अन्नपूर्ण गाउँपालिकामा एकल महिलालाई लक्षित चार दिने उद्यमशीलता विकास तालिम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, १५ जेठ २०८२

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एकल महिलाको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको चार दिने उद्यमशीलता विकास तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १२ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भयो।

समापन समारोहका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी.ले तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एकल महिलाहरूको आर्थिक सशक्तीकरणमार्फत समग्र सामाजिक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी, वडा नं. १ र ६ का वडाध्यक्षहरू, महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुँवर, र महिला सञ्जाल अन्नपूर्ण गाउँपालिकाकी अध्यक्ष कमला के.सी. लगायतले मन्तव्य राख्दै महिलाहरूको सशक्तीकरणमा यस्ता तालिमहरूको महत्व र प्रभावबारे प्रकाश पार्नुभयो।

उक्त तालिममा सहभागी महिलाहरूको तर्फबाट निर्मला परियारले बोल्दै तालिमले व्यवसायिक सोच, आत्मविश्वास र सीप विकासमा ठूलो टेवा पुर्‍याएको बताउँदै प्रशिक्षकद्वय र आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

तालिममा प्रशिक्षकका रूपमा जुना के.सी. र ज्ञानु आचार्यले सहजीकरण गर्नुभएको थियो। तालिमको समापन कार्यक्रममा अध्यक्षता अन्नपूर्ण गाउँपालिकाको एकल महिला समूहकी अध्यक्ष रञ्जना के.सी.ले गर्नुभयो।

चार दिनसम्म सञ्चालन भएको यो तालिममा सहभागी महिलाहरूले साना उद्यम सुरु गर्न आवश्यक ज्ञान, सीप, तथा योजना निर्माणको आधार सिकेका थिए। आयोजक पक्षका अनुसार तालिमबाट प्राप्त ज्ञान र प्रेरणाले महिलाहरूलाई स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।