ग्यासको चरम अभावप्रति अखिल क्रान्तिकारीको सांकेतिक विरोध, सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, २६ भाद्र २०८३ ।

खाना पकाउने एलपी ग्यासको चरम अभावप्रति ध्यानाकर्षण गराउँदै अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनामा शुक्रबार क्याम्पसको मुख्य गेटमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ।
पछिल्लो समय बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा विद्यार्थी, व्यवसायी तथा आम उपभोक्ता समस्यामा परेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
क्याम्पस गेटमा भेला भएका विद्यार्थीहरूले ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न, नियमित आपूर्ति सुनिश्चित गर्न तथा अत्यावश्यक उपभोग्य वस्तुको अभावबाट नागरिकलाई परेको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
ग्यास अभावका कारण विद्यार्थीको दैनिक जीवनसमेत प्रभावित भएको भन्दै अखिल क्रान्तिकारीले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विद्यार्थीहरूले अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले तत्काल समस्या समाधान नभए थप दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्।
अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले आयोजना गरेको सांकेतिक विरोध कार्यक्रममार्फत ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।