बुटवल
पाैष २० , २०८१ ।
लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको "नागरिक विद्रोह २०८१" कार्यक्रम प्रशासनको हस्तक्षेपका कारण अवरोध भएको छ। मानव अधिकारको संरक्षण, भ्रष्टाचारको अन्त्य, वित्तीय समस्या समाधान, र प्रशासनिक अराजकताविरुद्ध आवाज उठाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमकै दौरान प्रशासनले सवारीसाधन नियन्त्रणमा लिँदै प्रदर्शनलाई रोक्ने प्रयास गरेको छ। स्थानीय प्रशासनका अधिकारीहरूले यो कदम सार्वजनिक सुरक्षाका लागि भएको दाबी गरेका छन्। उनीहरूका अनुसार कार्यक्रममा अप्रत्याशित स्थिति सिर्जना हुनसक्ने आँकलनका कारण यो कदम चालिएको हो।
तर, कार्यक्रम आयोजकहरूले प्रशासनको यो कदमलाई असंवैधानिक र नागरिक स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। उनीहरूले भने, "हामीले नागरिक अधिकार, पारदर्शी शासन व्यवस्था, र सुशासनका लागि शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गरेका थियौँ। प्रशासनको यो हस्तक्षेप नागरिक आवाजलाई दबाउने गैर-लोकतान्त्रिक कदम हो।"
सर्वसाधारण तथा विभिन्न नागरिक संघसंस्थाहरूले पनि प्रशासनको कदमको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको आरोप लगाएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।