चितवन प्रहरीद्वारा पावर दुरुपयोगमा अनुसन्धान, दोषी प्रहरी निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ७ माघ , २०८१ । 

चितवन जिल्ला प्रहरी कार्यालयले एक प्रहरी कर्मचारीलाई पावर दुरुपयोग गरी सर्वसाधारणलाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा निलम्बन गरेको छ।

माघ ७ गते मध्यराति, सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित सडक पेटीमा एक युवालाई प्रहरी कर्मचारीले बुटले कुटपिट गरेको देखिएको थियो। भिडियो Facebook, YouTube, Tiktok लगायतका सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने र जनमानसमा नकारात्मक सन्देश पुग्ने देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले तत्काल कदम चालेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्थायी प्रहरी बिट गणेशस्थानबाट खटिएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) बुद्धि बहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न रहेको पुष्टि भएको छ। उनलाई माघ ७ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको र घटनाबारे थप छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

उक्त समिति प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान कुमार महतोको संयोजकत्वमा गठन गरिएको छ। समितिले घटनाबारे विस्तृत अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जानकारी जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति मार्फत् जानकारी  दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।