पोखरा, ११ असार २०८२
डा. डि.बि. सिंह स्मृति फाउण्डेशनको प्रथम साधारण सभा आज पोखरा–११, रानीपौवा स्थित होटल टप्समा सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रकृति–मानव केन्द्रित जन अभियान नेपालका अध्यक्ष बिन्दुराज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
साधारण सभाले सन्त बहादुर घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसअनुसार लेखराज रेग्मी उपाध्यक्ष, लक्ष्मण पुरी सचिव, ज्ञानु आचार्य कोषाध्यक्ष, नेत्रमणी चालिसे सहसचिव रहनुभएको छ। अन्य सदस्यहरूमा बिन्दुराज सापकोटा, उत्तम कडेल, घनश्याम सुवेदी, शारदा केसी, आमोश चौधरी र असोदा चौधरी चयन हुनुभएको छ। साथै सल्लाहकारमा सनबित्री राना, किशन शर्मा गैह्रे, माया गिरी र गोबिन्दराज काफ्ले चयन हुनुभएको छ।
कार्यक्रमको सञ्चालन घनश्याम सुवेदीले गर्नु भएको थियो भने स्वागत मन्तव्य असोदा चौधरीले दिनुभएको थियो। संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन घनश्याम सुवेदीले प्रस्तुत गर्नुभएको थियो, जसलाई साधारण सभाले सर्वसम्मतिले पारित गरेको छ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्दै आगामी आर्थिक वर्षका योजनाबारे समेत व्यापक छलफल गरिएको थियो।
प्रमुख अतिथि बिन्दुराज सापकोटाले विश्वमा बढ्दो जलवायु संकट, तापक्रम वृद्धिलगायत जैव–सामाजिक संकटले मानव जीवनमा पार्न सक्ने असरका विषयमा चर्चा गर्दै करिब २३ वर्षअघि आरपी सराफसंगै प्रकृति–मानव केन्द्रित जन अभियानको स्थापना गर्दा महत्वपूर्ण भूमिका खेल्नुभएका डा. डि.बि. सिंहको योगदानको स्मरण गर्नुभयो। उहाँले फाउण्डेशनको महत्व र उद्देश्यबारे संक्षिप्त जानकारी समेत दिनुभयो।
कार्यक्रममा उत्तम कडेल, लेखराज रेग्मी, माया गिरी, किशन शर्मा, ज्ञानु आचार्य, शारदा केसी, पत्रकार यदुनाथ बन्जारालगायत वक्ताहरूले नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै फाउण्डेशनको भावी गतिविधिमा सक्रिय सहयोग रहने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।