धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ माघ – धार्मिक सहिष्णुता खलल पार्ने तथा घृणा फैलाउने अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ४ स्थायी निवासी ५२ वर्षीय नरेन्द्र राज राईलाई पक्राउ गरिएको हो।

साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्ममा निगरानी गर्दा उनले धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने सामग्री प्रसारण गरेको पुष्टि भएको थियो। प्राविधिक विश्लेषण र अनुसन्धानपछि उक्त कार्यमा उनको संलग्नता पुष्टि भएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ब्यूरोको समन्वयमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले माघ २५ गते उनलाई पक्राउ गरेको थियो। हाल सम्मानित जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थी ले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।