धरानका मेयर हर्क साम्पाङको आयाेगलाई जवाफ : "पानी जीवनको आधार, राजनीति नगरौँ"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान, ११ माघ २०८१

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरी कार्यालयलाई लेखेको एउटा चिठी हाल चर्चाको केन्द्रमा छ। धरानका नागरिकलाई पानीको हकका लागि गरिएको संघर्ष र श्रमदानको महत्त्वलाई जोड्दै, उनले कोकाहा खानेपानी आयोजनाको चुनौतीपूर्ण यात्रालाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।

पत्रको सुरुवातमै मेयर साम्पाङले पानीको अपरिहार्यता जीवनका दैनिक क्रियाकलापहरूसँग जोडेर उदाहरण दिएका छन्। "बिहान उठ्ने बित्तिकै शौचालय जानुपर्छ। शौचालयमा पानी छैन भने के हुन्छ, त्यो भनिरहनै पर्दैन होला। केही समयपछि भात पकाउन पानी चाहिन्छ, भात खाएपछि हातमुख धुन पानी चाहिन्छ। फोहोर भाँडा र लुगा धुन, बगैंचाको स्याहार गर्न, चौपायालाई पानी खुवाउन—सबैका लागि पानी अनिवार्य छ। स्वास्थ्यका लागि पनि प्रशस्त पानी पिउन र दैनिक नुहाउनुपर्ने कुरा ‘केही नजान्ने’ WHO ले समेत भन्छ,” भन्दै उनले नागरिकको जीवनसँग पानीको सीधा सम्बन्ध स्पष्ट पारेका छन्।

उनले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीरपाखा, डाँडाकाँडा, खोला-झरना, जंगल पार गर्दै धरानसम्म ल्याउन गरिएको श्रमदानको चर्चा गर्दै यो अभियानको कठिनाइ र रमाइलो पक्ष दुवैलाई उजागर गरेका छन्। "घरीघरी ‘ओहोइ भर्नु त’ भन्दै, नाच्दै र गाउँदै, लड्दै र उठ्दै, सुकाउँदै र तान्दै पानी ल्याइएको हो। यस्तो अभियानमा श्रमदान गर्नु आफैंमा जीवन बचाउने संकल्प हो," उनले लेखेका छन्।

पत्रमा मेयर साम्पाङले खानेपानी परियोजनाविरुद्ध उजुरी गर्नेहरूप्रति रोष व्यक्त गरेका छन्। "त्यो उजुरी लाउने मान्छेले कति दिन श्रमदान ग¥यो? कति वटा पाइप किनेर दियो? त्यो फटाहा धरानकै हो कि बाहिरको?" भन्दै उनले खानेपानी अभियानलाई कमजोर बनाउने प्रयासप्रति आक्रोश पोखेका छन्।

उनले थप उल्लेख गरेका छन् कि राज्यले मेलम्ची, दमक टावर, वाइडबडी जहाजजस्ता परियोजनामा अनियमितताका लागि ठूलो रकम खर्च गरे पनि धरानका जनतालाई पानीको समस्या समाधान गर्न कुनै ठोस कदम चालेन। "राज्यको ढुकुटी खर्चेर बनाइएका यस्ता आयोजनाबाट केही फाइदा नहुने तर श्रमदानमार्फत जीवनका लागि गरिएको प्रयासको खेदो खन्नु गलत हो," उनले भने।

पत्रमा साम्पाङले पानीलाई जीवनको आधारभूत आवश्यकता भन्दै यसलाई कुनै पनि राजनीतिको विषय बनाउन नहुने चेतावनी दिएका छन्। "पानी भनेको विकास होइन, जीवन हो। पानी मानिसको आधारभूत अधिकार हो। यो माग्न जनता सिंहदरबार आउलान्," उनले लेखेका छन्।

पत्रको अन्त्यमा, उनले कोकाहा खानेपानी आयोजनाको भौतिक अवस्था अवलोकन गर्न धरानबासी र सरोकारवालाहरूलाई निम्तो दिएका छन्। "एक दिन आउनु, मूहानबाट धरानसम्म हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्नु। कम्तिमा यो अभियानले कस्तो संघर्ष र रमाइलो बोकेको छ भन्ने बुझ्न अवसर मिल्नेछ," उनले आग्रह गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।