धरानवासीका खानेपानी समस्या चाँडै समाधान गर्छाैं : खानेपानीमन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ ८ ,२०८१

खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्याको समाधान चाँडै गरिने बताएका छन्। धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सहितको टोलीसँग आज मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री यादवले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल चालेको जानकारी गराए।

छलफलका क्रममा मन्त्री यादवले भने, "धरान उपमहानगरपालिकाले जग्गा सुनिश्चितता गर्नुपर्छ। योजना छनोट भइसकेको छ र यसलाई दीर्घकालीन रुपमा समाधान गरिनेछ।"

खानेपानी व्यवस्थापनका लागि एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा आगामी वर्ष खानेपानीका लागि टेण्डर आह्वान गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। मन्त्री यादवले धरानवासीको समस्यालाई समाधान गर्न आफू सधैं सकारात्मक रहेको बताउँदै निकट भविष्यमा टेण्डर आह्वानसम्बन्धी पत्र बोकेर धरान जाने वाचा गरे।

नगरप्रमुख राईले धरानको खानेपानी समस्या उपमहानगरको बजेटले मात्र व्यवस्थापन गर्न नसकिने भन्दै संघीय सरकारको सहयोग आवश्यक रहेको बताए। उनले भने, "धरानवासीका लागि खानेपानी योजनामा बजेट विनियोजन गरिदिनुपर्छ। हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ।"

छलफलपछि नगरप्रमुख राईले मन्त्री यादवको प्रतिबद्धताप्रति खुशी व्यक्त गर्दै समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।