पोखरा, १८ असार २०८२
“पढ्नका लागि उमेरले कहिल्यै बन्देज गर्दैन” भन्ने प्रेरणादायी भावलाई जीवन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै पोखरा महानगरपालिका–१७, तल्लो विरुवा निवासी गोमा पराजुलीले महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
उनले आफ्नो ६१औं जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहायताका लागि उक्त अक्षयकोष स्थापना गरेकी हुन् ।
शैक्षिक अवसरबाट वञ्चित भएकी पराजुलीले ५३ वर्षको उमेरमा जानकी माध्यमिक विधालयमा शिशु कक्षामा भर्ना भई हाल कक्षा ७ सम्म अध्ययन गरिसकेकी गाेमाले आफ्नै जीवनको संघर्षमय जीवन यात्रालाई समेटेर "भीरको बाटो" नामक आत्मकथा प्रकाशित गरेकी पराजुलीले सो पुस्तक बिक्रीवाट संकलित रकमबाट अक्षयकोष स्थापना गरेकी छन् ।
हाल गोमा फाउण्डेशनकी अध्यक्षको भूमिकामा रहनुभएकी पराजुलीले उक्त कोष बराबरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघ अध्यक्ष विक्रमबाबु भण्डारी र प्रधानाध्यापक अर्जुन कडेललाई संयुक्त रूपमा हस्तान्तरण गरेकी हुन् ।
जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै पराजुलीले विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा मिठाई वितरण गर्दै विद्यालय परिवारसँग सामूहिक रूपमा जन्मदिन मनाएकी हुन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।