गुरुङ समुदायद्वारा तमु ल्होसार: नयाँ वर्षको उल्लासपूर्ण स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस १५ । 
गुरुङ समुदायले आज नयाँ वर्षका रूपमा विशेष उल्लाससाथ ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। यो पर्व गुरुङ समुदायको सांस्कृतिक पहिचान र नयाँ सुरुवातको प्रतीक हो।

तमु ल्होसार गुरुङ पात्रोअनुसार पुस शुक्ल पक्षमा मनाइन्छ। यस दिनलाई विशेष गरेर सूर्यको तापसँग जोडिएको मानिन्छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, र पर्वतजस्ता जिल्लामा सूर्यको ताप पहिले आउने किम्वदन्तीका आधारमा यो पर्व पुस १५ मा मनाउने परम्परा रहिआएको छ।

यस अवसरमा काठमाडाैँको टुँडिखेलमा गुरुङ समुदायद्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ। परम्परागत भेषभूषामा सजिएका सहभागीहरूले सोरठी र घाँटु नृत्य प्रस्तुत हुनेछन्। कार्यक्रममा गुरुङ समुदायका अगुवाहरूले यो पर्वले आपसी एकता र परम्पराको संरक्षणलाई बल पुर्‍याउने बताएका छन्।

गुरुङ संस्कृतिमा पुस १५ को रात सबैभन्दा लामो हुने र यसपछिका दिनहरू क्रमशः लम्बिँदै जाने भएकाले यो पर्व विशेष महत्त्वपूर्ण मानिन्छ। यो दिनले प्रकृतिसँग समुदायको गहिरो सम्बन्ध झल्काउँछ।

तमु ल्होसारको महत्त्वलाई स्वीकार्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ। यसले गुरुङ समुदायका साथै अन्य जातीय समूहलाई पनि पर्वको महत्त्वबारे जानकारी  गराउन मद्दत पुर्‍याएको छ । 

तमु ल्होसारले नयाँ वर्षका साथसाथै नयाँ अवसर र प्रेरणाको संकेत गर्दछ। गुरुङ समुदायले यस अवसरलाई सांस्कृतिक पहिचानको जगेर्ना गर्दै समृद्ध भविष्य निर्माणको संकल्पका रूपमा मनाउने छन्।

तमु ल्होसारको शुभकामना! यो पर्वले सबैमा सुख, शान्ति, र समृद्धि ल्याओस्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।