जेनजी घटनाप्रति खेद, जसपा मन्त्रीहरू राजीनामा दिने तयारीमा - अध्यक्ष अशोक राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २०८२ भदौ २४
नेपाल सोमबार दिनभरि आन्दोलित रह्यो। राजधानी काठमाडौँ मात्र होइन, पोखरा, विराटनगर, धरान, नेपालगञ्ज, बुटवलजस्ता देशका प्रमुख शहरहरूमा पनि युवाहरू सडकमा उत्रिए। ‘जेनजी आन्दोलन’ नामले परिचित भएको यो प्रदर्शनले नेपाललाई झकझोरिदिएको छ।
राजधानी नयाँबानेश्वरमा संसद भवन परिसरतर्फ प्रवेश गर्न खोज्दा भएको झडपकै क्रममा सबभन्दा ठूलो जनहानि भयो। अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर पनि नियन्त्रण गर्न नसकेपछि सुरक्षाकर्मीले गोली चलाए। परिणामतः १९ जनाले ज्यान गुमाए भने ५०० भन्दा बढी घाइते भए।
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेहरूको उपचार भइरहेको छ। चिकित्सकहरूले गम्भीर घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक रहेको बताएका छन्। अन्य शहरहरूबाट पनि घाइतेको संख्या बढिरहेको समाचार आएको छ।
आन्दोलनकारी युवाहरूले बेरोजगारी, भ्रष्टाचार, शिक्षा–स्वास्थ्यमा असमानता, र राजनीतिक नेतृत्वप्रतिको अविश्वासविरुद्ध नारा दिएका थिए। सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियान राजधानीदेखि गाउँ–सहरसम्म फैलिएको छ।
यस घटनापछि जनता समाजवादी पार्टी (जसपा) ले वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कडा भर्त्सना गरेको छ। अध्यक्ष अशोक कुमार राईले भनेका छन् —
“विरोध प्रदर्शनको घोषणा हुनासाथ आयोजक र सहभागीहरुको माग, मुद्दा र उद्देश्यलाई सम्बोधन गर्ने वा आकलन गर्ने प्रयास सरकारले नगरेको कारण यस्तो जनहानि भयो। यो अत्यन्त दुःखद् छ।”
जसपाले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको सम्पूर्ण उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। साथै, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने जोड दिएको छ।
अध्यक्ष राईका अनुसार, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिने तयारी समेत भइरहेको छ। उनले जागौँ नेपाल मिडियालाई जानकारी दिँदै भने, “यो दुर्घटनाको गम्भीरता बुझ्दै, मन्त्रीहरूले राजीनामा दिने तयारी भईरहेकाे छ।”
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हालै सामाजिक सञ्जालमार्फत ‘जेन–जी आन्दोलन’बारे आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका छन्।
श्रेष्ठले आन्दोलनमा भएको धन–जनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै उनले भनेका छन्, “यस आन्दोलनको उद्भव र विकासको गम्भीर समीक्षा गर्दै यसको जिम्मेवारी लिन प्रधानमन्त्रीज्यूले राजीनामा गर्नु पर्थ्यो । तर प्रधानमन्त्रीज्यूले त्यसको जिम्मेवारी लिनुको सट्टा आफ्नो बचाउमा अभिव्यक्ति दिइरहेका छन् ।”
उनका अनुसार यस्तो परिस्थितिमा जसपाले सरकारमा सामेल आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनुपर्ने अवस्था आएको छ।
श्रेष्ठले अबको राजनीतिले “व्यवस्था रोज्ने कि व्यक्ति” भन्ने प्रश्न उठाएको उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज र जेन–जी पुस्ता २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूको रक्षा, सुदृढीकरण तथा अपूर्णतालाई पूर्णता दिन एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
जसपाको सम्भावित राजीनामाले वर्तमान सत्ता समीकरणमा ठूलो धक्का पुर्‍याउने छ।  जेनजी आन्दोलन केवल तत्कालीन असन्तुष्टि मात्र होइन, नेपालको नयाँ पुस्ताले पुरानो राजनीतिक संस्कृतिलाई दिएको ऐतिहासिक चुनौती हो।

जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय, काठमाडौं
मिति २०८२।०५।२४ गते जारी गरेको  वक्तब्य :
२०८२ साल भदौ २३ गते सोमबार "जेन्जी" युवाहरुको काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा भएका विरोध प्रदर्शन र सो माथि सुरक्षाकर्मीहरुबाट भएको कार्बाही प्रति हाम्रो ध्यान गम्भीररुपमा आकर्षित भएको छ ।
विरोध प्रदर्शनको घोषणा हुनासाथ यसका आयोजक र यसमा सामेल भएर सक्रिय हुने शक्ति वा व्यक्ति समेतको माग, मुद्दा र उ‌द्देश्यलाई विश्लेषण गरेर सम्बोधन गर्ने वा प्रभावकारिता, पहुँच र योजनाको बारेमा जानकारी लिएर पूर्वानुमान वा आकलन गरी अग्रिम सुरक्षा प्रबन्ध गर्नमा सरकार चुकेको कारणबाट गोली चलाउनुपर्ने, ठुलो संख्यामा हताहति हुने र घाइते हुने अवस्था उत्पन्न भएको छ । यो अत्यन्त दुःखद् घटना हो । जनता समाजवादी पार्टी यसको भर्त्सना गर्दछ । यो घटनामा मृत्युवरण गर्ने सम्पूर्णमा भावपूर्ण श्रध्दाञ्जली छ । होनहार र प्रिय सन्तान गुमाएका परिवारजनलाई हार्दिक समवेदना छ। घाइतेहरुलाई बचाउन उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्दछ । यो दूर्घटनाको गहिरो छानबिन गरेर दोषीलाई कडा सजाय गरिनुपर्छ भनी जनता समाजवादी पार्टी जोडदार माग गर्दछ । साथै सम्पूर्ण युवाहरुलाई र जनसमुदायलाई पनि संयमित रहन हार्दिक अपिल गर्दछ ।
मा अशोक कुमार राई
अध्यक्ष, जनता समाजवादी पार्टी
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।