काठमाडौं, १० माघ २०८१
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो पार्टीको नाम, लेटरप्याड, र महासचिव मोहम्मद इस्तियाक राईको हस्ताक्षर दुरुपयोग गरी गलत सूचना फैलाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएको छ।
जसपाका अनुसार, उक्त विज्ञप्ति पुरानो सूचनालाई कपीपेस्ट गरी 'Surya Khaber' नामक फेसबुक ग्रुपमार्फत पोस्ट गरिएको छ। यसले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रममा पारेको र यस प्रकारको कार्य गैरकानूनी भएको भन्दै पार्टीले विरोध जनाएको छ।
पार्टीले साइबर ब्युरोलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सम्बन्धित फेसबुक ग्रुपका सञ्चालक र सो घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न अनुरोध गरेको छ। साथै, अनधिकृत विज्ञप्तिको लिंक समेत उजुरीमा समावेश गरिएको छ।
पार्टीको तर्फबाट बुझाइएको निवेदनमा यस्तो कार्यले पार्टीको प्रतिष्ठामा आँच पुर्याउने र कानूनी दायराभित्र नपर्ने क्रियाकलाप भएकोले छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।