काठमाडौँ, १८ माघ – खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका नागरिकलाई सहज रुपमा खानेपानी उपलब्ध गराउने गरी प्रभावकारी कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
शुक्रबार खानेपानी मन्त्रालयमा आयोजित बैठकमा मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गर्दै पाइपलाइन मर्मत, खानेपानी मिटर वितरण, र पानीको चुहावट रोकथामका कार्यहरू छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो।
"नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउनुपर्छ। पाइपलाइन चुहावट रोक्न, मिटर वितरण तीव्र बनाउन, र उपत्यकावासीलाई व्यवस्थित रूपमा खानेपानी उपलब्ध गराउने काममा कुनै ढिलाइ गर्नुहुँदैन," मन्त्री यादवले भन्नुभयो।
बैठकमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले पानी चुहावट रोक्न तत्काल कदम चाल्नुपर्ने बताउनुभयो। "बाढीका कारण केही मुहान बगेका छन्। ती स्थान पुनर्निर्माण गर्दै पानी आपूर्तिको दीर्घकालीन समाधान खोज्नुपर्छ," उहाँले थप्नुभयो।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले पछिल्लो समय बाढीका कारण उत्पन्न समस्याहरू समाधान गर्न कम्पनीले पुनर्निर्माण र मर्मतका कार्यहरू अघि बढाइरहेको जानकारी गराउनुभयो।
बैठकमा मन्त्रालयका सहसचिव मिना श्रेष्ठ, रमाकान्त दुवाडी, केयुकेएलका कर्मचारी प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।