खानेपानी मन्त्रालयमा विधुत सट भएर आगलागी भएको हुन सक्ने आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २६ माघ – आज बिहान काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। आगलागीबाट मन्त्रालयको मन्त्री कार्यकक्ष पूर्ण रूपमा जलेर नष्ट भएको छ भने करिब रु. ४० देखि ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, मन्त्रालयका महत्वपूर्ण कागजातहरू सुरक्षित रहेको खानेपानीमन्त्री प्रदीप यादव ले बताएका छन्।
आज बिहान ८:४० बजे अचानक मन्त्रालयको मन्त्री कार्यकक्षमा आगो लागेको थियो। मन्त्री यादवका अनुसार, आगलागी विद्युत् सर्ट भएको कारणले भएको हुनसक्ने आशंका गरिएको छ।
उनी भन्छन्, “हिजो शुक्रबार नै मन्त्रालयको तार पोलिएको गन्ध आएको थियो। त्यसपछि मैले कार्यालय सहयोगीलाई सबै प्लगहरू निकाल्न भनेको थिएँ। तर आज बिहान आगलागी भयो। घटनाबारे अहिले अनुसन्धान भइरहेको छ।” आगलागीबाट मन्त्री कार्यकक्षमा रहेका निम्न सामग्री जलेर नष्ट भएका छन् । दुईवटा टेलिभिजन,एक कम्प्युटर , डेस्कटप पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसीटीभीको मनिटर , मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार, करिब रु. ४० देखि ५० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।
मन्त्री यादवका अनुसार, आगलागीका कारण केही सामान्य कागजात मात्र जलेका छन्। उनले भने, “मैले मन्त्रालयका महत्वपूर्ण कागजातहरू आफ्नो टेबलमा राख्दिनँ। सबै सही गरेर सचिवज्यूलाई पठाउने गर्छु। त्यसैले कुनै अति आवश्यक कागजात आगलागीबाट नष्ट भएको छैन।”।
आगो लागेपछि तत्काल नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको टोली मन्त्रालय पुगेको थियो। दमकलको सहायताले ९:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहरा ले जानकारी दिएका छन्।
हाल प्रहरीको टोली घटनास्थलमा रहेर आगलागीको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। प्रारम्भिक रूपमा विद्युत् सर्टको आशंका गरिए पनि अनुसन्धानपछि मात्र यथार्थ कारण खुल्ने बताइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।