नागरिक स्थान (सिभिक स्पेस) विषयक परामर्श कार्यक्रम पोखरामा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, २० साउन २०८२
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी, बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था नेपाल बालमजदूर सरोकार केन्द्र (सिविन-नेपाल) को आयोजनामा नागरिकको स्थान (सिभिक स्पेस) सम्बन्धी परामर्श कार्यक्रम पोखरामा सम्पन्न भएको छ।

साउन २० गते सम्पन्न उक्त कार्यक्रममा विभिन्न तहका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सिविन-नेपालका कार्यकारी निर्देशक कुमार भट्टराई ले नेपालको संविधानमा प्रत्याभूत नागरिक अधिकारको व्याख्या गर्दै विचार, अभिव्यक्ति, भेला र संघसंस्था खोल्ने स्वतन्त्रता जस्ता मौलिक हकहरू व्यवहारमा लागू गर्ने कार्यलाई थप सुदृढ गर्न सार्थक संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बराल ले नागरिक आवाज स्थानीय तहबाट उठ्नु आवश्यक भएको र निजी स्वार्थका कारण सिभिक स्पेस कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै भने, “नागरिक समाज वायस हुन हुँदैन, यसको अपनत्व राज्यले लिनुपर्छ।”

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी ले सरकार र नागरिक समाजबीचको सहकार्यले विकास निर्माणमा सहयोग पुगेको उल्लेख गर्दै भनिन्, “कामको मूल्याङ्कन हुनैपर्छ, राम्रो कामको प्रशंसा र कमजोरीप्रति खबरदारी गर्नु नागरिक समाजको कर्तव्य हो।”

कार्यक्रममा सिविन नेपालका वरिष्ठ सदस्य सुबोधचन्द्र श्रेष्ठ, राष्ट्रिय बाल परिषद् समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठानका सहसचिव ज्ञानु आचार्य, दलित महिला संघ (फेडो) की संयोजक इश्वरी वि.क, कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवाल, गैसस कास्कीकी अध्यक्ष इन्द्रीरा पौडेल, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य पदमराज पहारी, अटिजम केयर सेन्टरका अध्यक्ष मुकुन्द लम्साल, तथा डिडाका संस्थापक अध्यक्ष गिरीधारी सुवेदी लगायतले आ-आफ्ना धारणा प्रस्तुत गरे।

उनीहरूले सिभिक स्पेसको shrinking (संकुचन) प्रति चिन्ता व्यक्त गर्दै नीति, कानून राम्रो भए तापनि कार्यान्वयन कमजोर रहेकोमा जोड दिए। जबसम्म सरकार जिम्मेवार बन्न सक्दैन, तबसम्म नागरिक स्थान सुदृढ हुन नसक्ने धारणा पनि व्यक्त गरिएकाे थियोे ।

कार्यक्रममा निम्न प्रश्नमा विशेष छलफल गरिएको थियो:

समुदायमा नागरिक स्थानको वर्तमान अवस्था कस्तो छ?

के नागरिक स्थान साँघुरिंदो छ?

बालबालिका तथा किशोर/किशोरीको नागरिक सहभागिता सुनिश्चित गर्न के गर्न सकिन्छ?

नागरिक स्थान फराकिलो बनाउन भएका प्रयासहरू के कस्ता छन्?


कार्यक्रमको उद्देश्यबारे सिविन नेपाल, कास्कीका जिल्ला संयोजक शंकर नेपाली ले जानकारी दिँदै सिविन नेपालले बालबालिकाका लागि आपतकालीन राहत तथा परामर्श सेवा अन्तर्गत ‘बाल हेल्पलाइन १०९८’ (दश-नौ-आठ) सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। काठमाडौं, हेटौंडा, नेपालगन्ज, पोखरा, विराटनगर, धनगढी र बुटवलमा निःशुल्क सेवा उपलब्ध गराइँदै आएको छ।

कार्यक्रमले नागरिक स्थानको सुदृढीकरणका लागि सरोकारवालाबीच संवाद र सहकार्यको आवश्यकता औँल्याउँदै नागरिक स्वतन्त्रता र सहभागितालाई प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।