काठमाडौं
११ माघ २०८१
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले दलगत राजनीतिबाट शिक्षा, प्रशासन, र सार्वजनिक संस्थाहरूलाई मुक्त गराउने उद्देश्यसहित "नागरिकको आवाज: सदनसम्म" अभियान सुरु गरेकी छन्। वीरगञ्जदेखि काठमाडौँसम्मको यो यात्रा उनले शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा, र मिडियासँग संवाद गर्दै यी क्षेत्रहरूमा देखिएका समस्याहरूको समाधान खोज्ने उद्देश्यका साथ सुरु गरेकी हुन्।
सुमना श्रेष्ठले नेपालको शिक्षा प्रणालीलाई दलगत राजनीतिले तहसनहस बनाएको आरोप लगाउँदै भनिन्, "शिक्षा जस्तो राष्ट्रनिर्माणको आधार कमजोर हुँदा लाखौँ विद्यार्थीले आफ्नो सपना गुमाइरहेका छन्। दलहरूको स्वार्थका लागि शिक्षालाई प्रयोग गर्ने यो प्रवृत्ति तुरुन्त अन्त्य गर्नुपर्छ।"
उनले यो अभियानमार्फत भ्रष्टाचार, मिटरब्याज पीडितहरू, सहकारी बचतकर्ताको समस्या, र प्रशासनमा देखिएको दलीय हस्तक्षेपजस्ता अन्य गम्भीर मुद्दाहरूलाई पनि सम्बोधन गर्ने बताएकी छन्।
"नागरिकहरूबाट कर उठाएर सार्वजनिक शिक्षा चलाउने जिम्मेवारी राज्यको हो, तर यही शिक्षा गुणस्तरीय बन्न नसक्दा युवाहरू विदेश पलायन हुन बाध्य छन्। यो देशलाई कहिलेसम्म नेताहरूको व्यक्तिगत स्वार्थले बन्धक बनाउने?" उनले प्रश्न गरिन्।
यस यात्राका क्रममा सुमना श्रेष्ठले विभिन्न समुदायसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्याको गहिराइ बुझ्ने र समाधानको पहल गर्ने योजना बनाएकी छन्। जनताको सुझाव र अनुभवलाई संसदमा पुर्याउने र दलीय हस्तक्षेपविरुद्ध कानूनी एवं नीतिगत परिवर्तन गर्ने उनको उद्देश्य छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।