पोखरा महानगरपालिकाको १६ औँ नगर सभा शुक्रवार सम्पन्न भएको छ। पौष २८ गतेदेखि प्रारम्भ भएको नगर सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेेकाे छ।
नगर सभाले विभिन्न विधेयक, कार्यविधि र आर्थिक संशोधनहरूसँगै अन्य महत्त्वपूर्ण विषयहरू पारित गरेको छ। भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, र भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१ लगायतका विधेयकहरू सर्वसम्मतिले पारित भएका छन्। साथै, ४ तलामाथिका भवनहरूको तुलनात्मक अध्ययन प्रतिवेदन र कार्यविधि निर्माणका लागि कार्यपालिकालाई निर्देशन दिने निर्णय पनि नगर सभाले गरेको छ।
नगर प्रमुखलाई विभिन्न योजना तथा कार्यक्रमको बजेट संशोधन र रकमान्तरका लागि अधिकार प्रत्यायोजन गर्दै शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी, राजश्व बक्यौता असुली कार्ययोजना पारित गर्दै प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा २ जना नगर सभा सदस्य, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य, र राजश्व महाशाखाका प्रमुख सदस्य सचिव रहने छन्।
महानगरका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ। नगर प्रमुख धनराज आचार्यले सभामा प्रस्तुत विषयहरूलाई आत्मसात् गर्दै महानगरको समग्र विकास र समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
नगर सभा सदस्यहरू सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वर बहादुर कार्की, विष्णु प्रसाद घिमिरे, सनकमान सिके र रेसम सुवेदीले छलफलमा सहभागी हुनुभएको थियो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।