प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबीच विशेष छलफल: दिगो खानेपानी व्यवस्थापनमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ पुस २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवबीच आज प्रधानमन्त्री कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ। छलफलमा खानेपानी मन्त्रालयको हालसम्मको प्रगति, वर्तमान चुनौती, र आगामी योजनाहरूबारे गहन चर्चा गरिएको छ।

बैठकमा मन्त्री यादवले ग्रामीण र सहरी क्षेत्रका खानेपानी तथा सरसफाइ परियोजनाहरूलाई तीव्रता दिइएको जानकारी गराउँदै सन् २०३० सम्म देशभरका नागरिकलाई सुद्ध र आधारभूत खानेपानी पुर्‍याउने लक्ष्यबारे जानकारी गराउनुभयो। उहाँले मेलम्ची खानेपानी आयोजना लगायत ग्रामीण क्षेत्रमा नयाँ योजना कार्यान्वयन र पुराना योजनाको समयमै सम्पन्न गर्न विशेष प्राथमिकता दिइएको बताउनुभयो।

जलवायु परिवर्तनका कारण खानेपानी स्रोतमा परेको असरबारे पनि छलफल भएको थियो। मन्त्री यादवले वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न वैज्ञानिक दृष्टिकोण अपनाइएको उल्लेख गर्नुभयो।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयको प्रयासको प्रशंसा गर्दै दिगो विकास र प्रभावकारी कार्यान्वयनका लागि थप योजना बनाउनु आवश्यक रहेको बताउनुभयो। “खानेपानी प्रत्येक नागरिकको अधिकार हो। यस क्षेत्रको सुधारमा मन्त्रालयले गरेको प्रयास प्रशंसनीय छ। तर, दिगो नीति र सहकार्य आवश्यक छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्रीले मेलम्ची आयोजना लगायतका ठूला परियोजनाको समयमै सम्पन्न गर्न निर्देशन दिँदै जलवायु परिवर्तनका चुनौती समाधान गर्न वैज्ञानिक योजना बनाउन जोड दिनुभयो। उहाँले मन्त्रालयको सक्रियतालाई अझ प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

छलफलपछि मन्त्री यादवले मन्त्रालयले खानेपानी स्रोतको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्न नयाँ नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हाम्रो प्राथमिकता जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो। प्रधानमन्त्रीज्यूको निर्देशनले हामीलाई अझ प्रेरणा दिएको छ,” मन्त्री यादवले भन्नुभयो।

बैठकमा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी आचार्य, डि.जी राम कुमार श्रेष्ठ, र अन्य उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
प्रधानमन्त्री ओलीले मन्त्री यादवको सक्रियता र कार्यक्षमताको प्रशंसा गर्दै मन्त्रालयलाई नयाँ योजनाहरू अघि बढाउन हौसला दिनुभएको छ। उहाँले भन्नुभयो, “खानेपानी क्षेत्रमा भएका सुधारका लागि मन्त्री यादवको नेतृत्व प्रशंसनीय छ। आगामी दिनमा अझ व्यापक सुधारका लागि सरकार पूर्ण प्रतिबद्ध छ।”

मन्त्री यादवले आगामी दिनमा स्थानीय समुदायको सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत खानेपानीको दीर्घकालीन आवश्यकता पूरा गर्ने योजना बनाइने बताउनुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।