पर्यटन तथा उद्योग कार्यालय बागलुङमै राख्न राजनीतिक दल र व्यवसायीहरूको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य                                                        पाेखरा, २७ साउन २०८२ ।
गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना पुनरावलोकनको नाममा बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वत सार्ने निर्णय गरेकोप्रति बागलुङका राजनीतिक दल, सरोकारवाला निकाय र व्यवसायीहरूले तीव्र आपत्ति जनाएका छन्।

बागलुङ जिल्ला गण्डकी प्रदेशकै दोस्रो व्यापारिक केन्द्र तथा साविक धौलागिरी अञ्चलको सदरमु‌काम हो। हाल यहाँ करिब छ हजार उद्यमी व्यवसायी दर्ता छन् भने पर्यटकका दृष्टिले पोखरा पछि दोस्रो प्रमुख गन्तव्यको रूपमा परिचित छ।

पूर्व सचिव शंकरचन्द्र पौडेलको संयोजकत्वमा गठित “प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति” ले बागलुङको संरचनागत अवस्था उत्कृष्ट रहेको भन्दै पर्यटन तथा उद्योग कार्यालय यथास्थानमा राख्ने सिफारिस गरेको थियो। तर, प्रदेश मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन विपरीत कार्यालयलाई पर्वत सार्ने निर्णय गरेको हो।

यस निर्णयको विरोधमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, बागलुङ उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्णय तत्काल सच्याउन माग गरेका छन्। उनीहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना नगर्न चेतावनीसमेत दिएका छन्।

सामाजिक अभियन्ता तथा व्यवसायी एक बहादुर केसीले पनि गण्डकी प्रदेश सरकारले गरेको निर्णयप्रति कडा आपत्ति जनाउँदै भने, “पर्यटनको राजधानी घोषणा भइसकेको गण्डकी प्रदेशभित्र लघुउद्योग मार्फत उत्पादन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकासमा जोड दिनुपर्ने समयमा पर्यटन तथा उद्योग कार्यालय मर्ज गरेर व्यवसायीहरूलाई निरुत्साहित गर्नु निन्दनीय कार्य हो। सस्तो लोकप्रियताको लागि आर्थिक व्ययभार घटाउने बहानामा गरिएको यो निर्णयले बामे सर्दै गरेका पर्यटन तथा साना उद्यमीहरूलाई थप समस्या सिर्जना गर्ने भएकाले तुरुन्त सच्याउनुपर्छ।”

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य टिका विश्वकर्मा, राष्ट्रिय जनमोर्चा नगर सचिव विष्णुप्रसाद अधिकारी, नेकपा एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ सचिवालय संयोजक खिमानन्द पौडेल, नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्ण शर्मा र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य रहेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।