सामाजिक सञ्जालमा सस्तो लोकप्रियता खोज्ने प्रवृत्ति: नेपाली युवापुस्ताको चिन्ताजनक अवस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य 

१० माघ २०८१

सामाजिक सञ्जालको आगमनसँगै नेपाली समाजले अभूतपूर्व परिवर्तनको अनुभव गरिरहेको छ। संवाद, मनोरञ्जन, र सूचना आदान-प्रदानका लागि यी प्लेटफर्महरू एक सशक्त माध्यम बन्न पुगेका छन्। तर, आधुनिक प्रविधिको यो अनुपम अवसरलाई सदुपयोग गर्नुपर्ने ठाउँमा, दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। विशेष गरी, युवापुस्तामा 'भाइरल' हुने र 'लाइक' तथा 'भ्यु' को अन्धो मोहले एक गम्भीर चिन्ताको विषय खडा गरेको छ।

फेसबुक, टिकटक, र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा अहिले रमाइलोका नाममा सस्तो लोकप्रियता खोज्ने सामग्रीको बिगबिगी छ। सार्वजनिक ठाउँमा गम्भीरतालाई परित्याग गरेर अमर्यादित क्रियाकलाप प्रदर्शन गर्ने, व्यक्तिगत र संवेदनशील क्षणहरूलाई 'कन्टेन्ट' बनाउने, र सामाजिक मूल्य–मान्यता बिथोल्ने काम सामान्यजस्तै भइसकेको छ।

यो प्रचलन केवल मनोरञ्जनकै लागि हो भन्ने तर्क धेरैले गर्न सक्छन्। तर, के हामीले कहिल्यै सोच्यौं—यस्ता गतिविधिले हाम्रो मौलिक पहिचान, सांस्कृतिक धरोहर, र सामाजिक मर्यादालाई कस्तो असर पुर्‍याइरहेको छ?

सामाजिक सञ्जाल केवल रमाइलोको माध्यम होइन। यसले सकारात्मक विषयवस्तु र सन्देशलाई व्यापक बनाउने एउटा महान् प्लेटफर्म पनि हो। तर, नेपालमा बेरोजगारी, शिक्षा, लैङ्गिक असमानता, जलवायु परिवर्तन, र समृद्धिको खोजी जस्ता गम्भीर र आवश्यक विषयहरू उठाइने सामग्रीहरूलाई पर्याप्त ध्यान दिइएको पाइँदैन।
सस्तो लोकप्रियता र तात्कालिक मनोरञ्जनले समाजलाई दीर्घकालीन रूपमा हानि पुर्‍याइरहेको छ।

 परम्परागत नेपाली संस्कार र सामाजिक मर्यादाको महत्त्व ओझेलमा परेको छ। युवाहरूले आफ्नो पहिचानलाई हतोत्साहित गर्दै विदेशी शैली र सस्तो चर्चालाई प्राथमिकता दिन थालेका छन्।मनाेरन्जनका नाममा सही सीमारेखा नतोकिँदा समाजमा नैतिक र सांस्कृतिक विकृति फैलिरहेको छ। सकारात्मक मार्गमा डोर्‍याउन सक्ने युवाहरूको ऊर्जा अनुत्पादक क्रियाकलापमा खेर गइरहेको छ।

 सञ्जालका प्रयोगकर्ताहरूले गुणात्मक, सिर्जनात्मक, र समाजका लागि उपयोगी सामग्रीलाई सेयर, लाइक, र टिप्पणीमार्फत प्रोत्साहन गर्नुपर्छ। सामाजिक सञ्जालको सही उपयोगबारे सचेत गराउने कार्यक्रम सञ्चालन गरिनुपर्छ। अभिभावकहरूले आफ्ना सन्तानलाई समयमै सचेत गराउँदै संस्कार र सामाजिक उत्तरदायित्वको महत्त्वबारे जानकारी दिनुपर्छ। नितिनिर्माता र सम्बन्धित निकायहरूले सामाजिक सञ्जालमा अश्लीलता र विकृति फैलाउने सामग्रीलाई नियन्त्रण गर्न कानुनी उपायहरू अवलम्बन गर्नुपर्छ। युवाहरूलाई समाजमा सकारात्मक प्रभाव पार्न सक्ने अभियान र परियोजनामा संलग्न गराउनु आवश्यक छ।

सामाजिक सञ्जाल कुनै गलत माध्यम होइन। यो सही ढंगले प्रयोग गरियो भने समाजलाई प्रगतिपथमा डोर्‍याउन सक्ने एउटा सशक्त अस्त्र हो। मनोरञ्जन र चर्चाको नाममा हाम्रो संस्कृति, मूल्य, र पहिचानलाई बिर्सनुहुँदैन। युवाहरूले आत्मसमर्पण र जागरूकताको भावनालाई आत्मसात् गरेर, समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गर्नुपर्ने समय आएको छ।

सस्तो लोकप्रियताको होडले केवल क्षणिक खुशी दिन्छ। तर, दीर्घकालीन प्रभावका लागि गुणात्मक, नैतिक र सिर्जनात्मक कार्यले मात्र हाम्रो पहिचान बचाउन र समृद्ध समाज निर्माण गर्न सक्छ।
"परिवर्तन आफूबाट सुरू होस्, समाज तपाईंको बाटो पछ्याउनेछ।"

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।