सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने: मन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ माघ २०८१ – खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेज गरिने घोषणा गर्नुभएको छ। शुक्रबार चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री यादवले सरकारको लगानीमा सञ्चालित खानेपानी आयोजनालाई करमुक्त गराउने बताउनुभयो।

मन्त्री यादवका अनुसार, वर्तमान कर प्रणालीले उपभोक्ता समितिहरूमा अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको छ, जसलाई हटाउन नीति निर्माण तहमा विशेष पहल भइरहेको छ। उहाँले भन्नुभयो, “देशभर रहेका ४२ हजार उपभोक्ता समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मन्त्रालय क्रियाशील छ। हालै माघ १० गते नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ, जसले उपभोक्ता समितिहरूलाई थप सहज बनाउनेछ।”

कार्यक्रममा मन्त्री यादवले सुरक्षित तथा सुलभ खानेपानीको उपलब्धता सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै खानेपानी व्यवस्थापनलाई दिगो विकासको आधारभूत पक्षका रूपमा अघि बढाइने धारणा राख्नुभयो।

चन्द्रागिरिमा मेलम्ची खानेपानी पुर्‍याउने पहल

चन्द्रागिरि नगरपालिकामा खानेपानी अभाव रहेको उल्लेख गर्दै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको सेवामा यस क्षेत्रलाई समेट्न विशेष पहल गरिने बताउनुभयो। साथै, नगरपालिकाको खानेपानी स्रोतहरूमा सुरुङ मार्ग निर्माणका कारण पर्न सक्ने असरबारे सरकार सचेत रहेको उहाँको भनाइ थियो।

मन्त्री यादवले वैकल्पिक पानी आपूर्ति व्यवस्थापन महँगो भए पनि स्थानीयवासीका लागि निःशुल्क पानी वितरणको कार्यान्वयन अत्यावश्यक रहेको बताउँदै सरकार आवश्यक लगानी तथा प्राविधिक सहायता प्रदान गर्न तत्पर रहेको उल्लेख गर्नुभयो।

खानेपानी महसुल निर्धारण जनताको आर्थिक पहुँचभित्र हुनुपर्नेमा जोड दिँदै मन्त्री यादवले यस विषयमा व्यापक छलफल तथा समन्वय गरी न्यायसंगत महसुल नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सोही कार्यक्रममा मन्त्री यादवले नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “मन्त्रालयले उपभोक्ता समितिहरूलाई निरन्तर सहयोग गर्दै जानेछ, र आगामी दिनमा थप उपलब्धिहरूका लागि सबै पक्षसँग मिलेर काम गरिनेछ।”

कार्यक्रमका सभापति तथा नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामेश्वरप्रशाद भुर्तेलले चन्द्रागिरिमा खानेपानीको समस्या गम्भीर रहेको बताउँदै सरकारसँग शुद्ध र स्वच्छ पानी आपूर्ति सुनिश्चित गर्न पहल गर्न आग्रह गर्नुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।