युवा नेताहरुकाे अपिल: "समाजवादी दलहरू एकताबद्ध भएर वैकल्पिक पार्टी निर्माण गरौं।"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , २०८२ असाेज ९
जेन-जी नेतृत्वको ऐतिहासिक आन्दोलनपछि युवा नेताहरूले "समाजवादी दलहरू एकताबद्ध भएर वैकल्पिक पार्टी निर्माण गरौं " भन्ने संदेश सहित संयुुक्त अपिल गरेका छन् ।
उक्त अपिलमा,  भदौ २३ र २४ गते जेन-जी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक आन्दोलनले मुलुकको राजनीतिमा नयाँ मोड ल्याएको छ। आन्दोलनले शासन सत्तामा रहेका नेताहरू, उनका छोराछोरी तथा सर्वसाधारणको जीवनशैली उजागर गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार विरुद्ध ऐतिहासिक सफलता हासिल गरेको बताइएको छ। आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबै सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। तर, आन्दोलनको दौरान भएको विध्वंसले मुलुकलाई ठूलो क्षति पुर्याएको भन्दै सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। समिति घटनाको सत्यतथ्य बाहिर ल्याउने र भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्ने काममा लाग्नेछ भन्ने अपेक्षा गरिएको छ।
केन्द्रीय सदस्यहरूले भनेका छन् कि सम्बद्ध राजनीतिक दलका नेतृत्वले विगतमा विभिन्न राजनीतिक परिवर्तन, आन्दोलन, विद्रोह र सङ्घर्षमा भूमिका खेलेको छ। संविधान संशोधन, भ्रष्टाचार अन्त्य, सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थालगायत विषयमा दलबीच कुनै विमति नभएको स्पष्ट गरिएको छ।
युवा नेताहरूले आफ्नो अपिलमा सामाजिक र श्रमजीवी वर्गको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न, समाजवादी दलहरूलाई एकताबद्ध गरी वैकल्पिक पार्टी निर्माणको दिशामा अघि बढ्न आग्रह गरेका छन्। उनीहरूले विगतका कमजोरी सच्याउँदै समाजवादी आन्दोलनलाई सुदृढ बनाउने जोडदार माग समेत गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्यहरु पुर्ण बस्नेत , खेमराज खड्का लाेसपा नेपालका केन्द्रीय सचिव रामेश्वर यादव, केन्द्रीय सदस्य सुजन यादव, जसपा केन्द्रीय सदस्यहरु प्रेमनारायण थापा, अर्जुन लम्साल, ज्ञानु आचार्य, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरु दिप बहादुर तामाङ, दाेर्जे तमाङ, गिता चाैधरी , र नेसपा (नयाँ शक्ति ) केन्द्रीय सदस्यहरु बिष्णु प्रसाद पाैडेल, प्रकाश भट्टराई सहितका युवा नेताहरुले हस्ताक्षर सहित अपिल सार्वजनिक गरेका छन् ।
युवा नेताहरुले गरेकाे अपिल यस प्रकार छ:
         अपिल
भदौ २३ र २४ गते जेन-जी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक आन्दोलनले मुलुकको राजनीतिलाई नयाँ मोडमा ल्याइपुर्याएको छ । शासन सत्तामा पुगेका नेता, उनका छोराछोरी र सर्वसाधारण जनताको जीवनशैलीलाई उजागर गर्दै मुलतः देशमा व्याप्त भ्रष्टाचारविरुद्ध जेन जी आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेको छ । उक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुमा हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
आन्दोलनका दौरान भएको विध्वंशले मुलुकलाई ठूलो क्षती पुर्याएको छ। सरकारले जेनजी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षतीको छानविन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ । उक्त समितिले घटनाको सत्यतथ्य बाहिर ल्याउने नै छ साथै मुलुकमा भएका भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न हामी सरकारसँग माग गर्दछौं ।
हामी सम्बद्ध राजनीतिक दलको नेतृत्वले विगतमा कुनै न कुनै राजनीतिक परिवर्तन, आन्दोलन, विद्रोह, सङ्घर्ष र कान्तिको अगुवाई गरेको हो। हरेक राजनीतिक परिवर्तनलाई नेतृत्वले स्विकार गरेको देखिन्छ। यस अर्थमा हामी सम्बद्ध राजनीतिक दल र नेतृत्व अग्रगामी छ भन्ने कुरा प्रष्ट हुन्छ। विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा हाम्रा साझा धारणा र प्रतिबद्धता छन्। वैचारिक र सैद्धान्तिक रुपमा हामी एकदमै नजिक छौं। संविधान संशोधनको एजेण्डा होस् या भ्रष्टाचार अन्त्य, सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थालगायतका विषयमा हामी सम्बद्ध दलका विचमा विमति नरहेको हाम्रो बुझाइ छ ।
मुलुकमा पटक पटक कान्ति, विद्रोह हुने तर त्यो विद्रोहपश्चात मुलुकले सही निकास पाउन नसक्ने यथार्थ हाम्रो सामु विद्यमान छ । त्यसमा कांगेस, कम्युनिष्ट शासनको असफलता मुख्य रुपमा जिम्मेवार छ भने हामी सम्बद्ध दलको नेतृत्व पनि कहिँ न कहिं चुकेको देखिन्छ। सिंगो पार्टीले विचार मिल्ने दलसँग एकताको प्रक्रियामा जाने निर्णय गर्ने तर एक ठाउँमा आउन नसक्ने र आएपनि एक ठाउँमा रहन नसक्ने कमजोरी देखियो। यही कारणले राष्ट्रिय राजनीतिमा उत्पीडित समुदाय र श्रमजीवी वर्गको वास्तविक प्रतिनिधित्व गर्ने हाम्रो आकांक्षा पुरा हुन सकेको छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने समाजवादी विचारका हामी युवा प्रतिनिधिहरु जेन-जी आन्दोलनपश्चात विकसित घटनाकमका सन्दर्भमा छलफल गर्ने कममा एउटा साझा निष्कर्षमा पुगेका छौं। समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर रहेको छ। विगतमा भएका कमी कमजारीलाई सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुद्ध गर्न सम्बद्ध दलको नेतृत्वसँग हामी जोडदार माग गर्दछौं । मुलुकको आवश्यकता, आन्दोलनको मर्म, पार्टीका आम कार्यकर्ता र पार्टी सदस्यको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात् गर्ने अपेक्षासहित । धन्यवाद ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।