लागू औषध दुर्व्यसन विरुद्धको स्वास्थ्य तथा मनोपरामर्श तालिम गण्डकीमा सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, ७ माघ २०८१।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा लागू औषध दुर्व्यसनविरुद्ध पाँचदिने स्वास्थ्य तथा मनोपरामर्श तालिम आजबाट पोखरामा सुरु भएको छ। तालिम गण्डकी प्रदेश विज्ञान प्रविधि प्रतिष्ठानको सभाहलमा सञ्चालन भईरहेकाे छ।

कार्यक्रमको उद्घाटन सत्रमा युवा तथा खेलकुद शाखा प्रमुख टंक प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै लागू औषध प्रयोगकर्ताहरूको तथ्यांक प्रस्तुत गर्नुभयो। उहाँका अनुसार, नेपालमा लागू औषध प्रयोगकर्तामध्ये ११ प्रतिशत पुरुष र ७ प्रतिशत महिला रहेका छन्। ढकालले युवामा मानसिक स्वास्थ्यको समस्या र लागू औषध दुर्व्यसनको चुनौतीलाई सम्बोधन गर्न मनोपरामर्शको आवश्यकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि सचिव नवराज ढकालले उद्घाटन मन्तव्य दिनुभयो। उहाँले समाजको वास्तविक सरोकार सम्बोधन गर्न र दुर्व्यसन नियन्त्रणका लागि यस्तो तालिमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

तालिममा रिकभरीङ् नेपाल र गण्डकी प्रदेशका सुधार तथा पुनःस्थापना केन्द्रका २८ जना मनोपरामर्शकर्ता सहभागी भएका छन्।
तालिमको नेतृत्व डा. राजेन्द्र घिमिरे र डा. नीमा आमात्यले गर्नुहुनेछ, जसले स्वास्थ्य र मनोरोगसम्बन्धी सैद्धान्तिक र व्यवहारिक पक्षमा प्रशिक्षण दिनेछन्।

यस तालिमको उद्देश्य लागू औषध दुर्व्यसनका कारण सिर्जना भएका मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्नु, मनोपरामर्शद्वारा सुधार प्रक्रियालाई सघाउनु, र समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको कुरा टंक प्रसाद ढकालले जागाैं नेपाल मिडियालाई जानकारी गराउनुभएकाे छ। 

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा  सुरु गरिएको यस तालिमले लागू औषध दुर्व्यसन नियन्त्रण र सुधारका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। तालिम माघ ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।