मार्च ८ काे सन्दर्भमा : एक महिला समाजशास्त्रीकाे पुरुषहरुलाई खुला पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा, २४ फागुन ०८१

पृथ्वीनारायण  क्याम्पसमा अध्यापन गराउदै आउनुभएकी समाजशास्त्री डा. शान्ता खत्री ले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा समाजशास्त्रीय लैंगिक बिश्लेषण गर्दै पुरुष मित्रहरुलाई खुला पत्र आफ्नो फेसबुक मार्फत् सार्वजनिक गर्नुभएको छ। जुन यसप्रकार रहेको छ: 

प्रिय पुरुष मित्रहरु, 

आज ८ मार्च, अन्तर्राष्ट्रिय महिला दिवस। यो दिन केवल उत्सव मनाउने अवसर मात्र  होइन, समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय, र अन्य सामाजिक संरचनाहरूबीचको अन्यायलाई पुनर्विचार गर्ने क्षण पनि हो। तपाईंहरूमध्ये कतिपयलाई लाग्न सक्छ "महिलाहरूले अधिकार पाए, कानून बने, समानता आयो, अब किन संघर्ष ?" तर समाजशास्त्रीय रूपमा अन्तरसम्बन्ध (Intersectionality) को सिद्धान्तले देखाउँछ कि सबै महिलाहरूको अनुभव एउटै हुँदैन। लैङ्गिक भेदभावको असर जाति, वर्ग, धर्म, क्षेत्र, अपाङ्गता, यौनिकता, र अन्य सामाजिक अवस्थासँग अन्तरसम्बन्धित हुन्छ। एउटी उच्च जातकी शिक्षित महिलाको समस्या, एक दलित महिलाको समस्या, मधेसी, आदिवासी, मुस्लिम वा अपाङ्ग महिलाको समस्या एउटै हुँदैन। तर, सबै महिलाहरूलाई एउटै ‘महिला’ समूहमा राखेर बुझ्न खोज्दा, कमजोर समूहका महिलाहरूको आवाज हराउने खतरा रहन्छ।

नेपालमा दलित महिलाहरू दोहोरो उत्पीडनको सिकार हुन्छन्, महिला भएकाले नै हेपिन्छिन्, अर्को दलित भएकाले।  दलित महिलामाथि हुने हिंसा केवल लैङ्गिक होइन, जातीय संरचनासँग पनि जोडिएको हुन्छ। जातीय उच्चता कायम गर्न हिंसालाई हतियारका रूपमा प्रयोग गरिन्छ, जसले उनीहरूको न्याय प्राप्त गर्ने सम्भावनालाई झन् कमजोर बनाउँछ। जब दलित महिलामाथि हिंसा हुन्छ, न्यायिक प्रणाली नै उच्च जातीय प्रभुत्वमा भएकाले उनीहरूको आवाज दबाइन्छ। 

यसैगरी, मधेसी, आदिवासी, र मुस्लिम महिलाहरूको अवस्था हेर्ने हो भने, उनीहरू आफ्नो समुदायभित्र पनि पितृसत्ताको चपेटामा छन्, साथै बाहिरी समाजबाट दोहोरो भेदभाव झेल्न बाध्य छन्। मधेसी समाजमा अझै पनि बालविवाह, बहुविवाह, र दाइजो प्रथा व्यापक छन्। आदिवासी महिलाहरू पहिचानको लडाइँमा दोस्रो स्थानमा पारिन्छन्, किनभने प्राथमिकता पुरुषहरूको राजनीतिक प्रतिनिधित्वलाई दिइन्छ। मुस्लिम महिलाहरू धार्मिक र सांस्कृतिक कारणले अझ बढी नियन्त्रण गरिन्छन्, जसले उनीहरूको शिक्षा, रोजगारी, र निर्णय शक्तिमा बाधा पुर्‍याउँछ। समाजमा समानता ल्याउने हो भने सबै महिलाको वास्तविकता बुझ्न आवश्यक छ, केवल आफ्नै वर्ग वा जातिभित्रका महिलाहरूको मात्र होइन।

श्रमिक महिलाहरूको अवस्था झन् जटिल छ। शिक्षित महिलाहरूले त कार्यक्षेत्रमा समानताको लडाइँ लड्नुपर्छ भने, श्रमिक महिलाहरूलाई त न्यूनतम ज्याला नै दिइँदैन। घरायसी कामदार, ईंटा भट्टामा काम गर्ने महिलाहरू, चिया बगानमा मजदुरी गर्ने महिलाहरू दोहोरो शोषणको शिकार छन् काममा शारीरिक श्रमको शोषण, अनि कार्यस्थलमा यौन हिंसाको जोखिम। 

त्यसैगरी, एलजीबीटीक्यू+ महिलाहरू झन् नदेखिने विभेदको शिकार छन्। समलिङ्गी (Lesbian) महिलाहरूलाई ‘महिला’ को रूपमा पनि दबाइन्छ, र ‘सामान्य’ नरहेको भन्दै झन् बढी भेदभाव गरिन्छ। ट्रान्स महिलाहरूलाई समाजले ‘महिला’ को रूपमा स्वीकार्दैन, न त ‘पुरुष’ को रूपमा नै। कतिपय पुरुषहरू आफैं पनि विषमलैङ्गिक पुरुषत्व (Heteronormativity) को दबाबमा छन्, जसले गर्दा उनीहरू पनि समाजको परिभाषित ‘पुरुष’ बन्न बाध्य छन्। 

हिंसा जब दलित महिलामाथि हुन्छ, जब मधेसी महिलामाथि हुन्छ, जब गरीब महिलामाथि हुन्छ अनि समाज मौन बस्छ। बलात्कारको घटना हुँदा पीडितलाई नै दोष दिइन्छ "राति बाहिर किन गइन्?" घरेलु हिंसा हुँदा परिवारभित्रै मिलाउन खोजिन्छ "पुरुष हुन्, अलि रिसाउँछन्, सहनुपर्छ।" कार्यस्थलमा यौन उत्पीडन हुँदा महिलालाई जागिर छोड्न बाध्य पारिन्छ। पुरुष साथीहरू, तपाईंलाई लाग्न सक्छ, तपाईं प्रत्यक्ष रूपमा यस्ता घटनामा संलग्न हुनुहुन्न। तर तपाईं मौन रहनुभयो भने, तपाईं यो हिंस्रक संरचनाको हिस्सेदार बन्नुहुन्छ।

अन्त्यमा, पुरुष साथीहरू, लैङ्गिक समानता तपाईंहरूको अनुकम्पा (charity) होइन, यो सामाजिक न्यायको प्रश्न हो। यदि तपाईं जातीय समानताका लागि लड्नुहुन्छ भने, लैङ्गिक समानतालाई समेट्नुहोस्। यदि तपाईं वर्गीय न्यायका लागि बोल्नुहुन्छ भने, श्रमिक महिलाहरूको मुद्दा पनि उठाउनुहोस्। यदि तपाईं सामाजिक परिवर्तनको कुरा गर्नुहुन्छ भने, पितृसत्तात्मक संरचनालाई चुनौती दिनुस्। महिला आन्दोलन सबै महिलाहरूका लागि मात्र होइन, सम्पूर्ण समाजको लागि हो। किनभने जब समाज समान बन्छ, तब तपाईंहरू पनि ‘पुरुष’ भन्ने झूटो शक्ति प्रदर्शनको बोझबाट मुक्त हुन सक्नुहुन्छ।

आज मात्र होइन, हरेक दिन हामीसँग उभिनुस्। समानताको पक्षमा बोल्नुस्। पितृसत्तालाई भत्काउनका लागि साथ दिनुस् यसमा सबै को भलो हुन्छ ।

निवेदक 
एक महिला समाजशास्त्री

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।