नेपाली स्याउमा 'ब्राउन हार्ट' समस्या :पाेष्टहार्भेष्ट ब्यबस्थापनमा सुधार अपरिहार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य ,१२ माघ २०८१ ।
नेपालका हिमाली जिल्लाहरूमा उत्पादन हुने स्याउले लामो समयदेखि नेपाली बजारमा महत्वपूर्ण स्थान ओगट्दै आएको छ। तर, हालैका दिनमा सामाजिक सञ्जालमा बाहिरबाट स्वस्थ देखिने स्याउको भित्री भाग कुहिएको (ब्राउन हार्ट) समस्याका समाचारहरूले उपभोक्ता, उत्पादक, र व्यवसायीहरूमा चिन्ता उत्पन्न गराएको छ। यस समस्याले उपभोक्तालाई ठगिएको महसुस मात्र गराइरहेको छैन, नेपाली स्याउको प्रतिष्ठा समेत गुम्न सक्ने खतरा छ।

'ब्राउन हार्ट' भन्नाले स्याउको बाहिरी भाग स्वस्थ देखिए पनि भित्री भाग कुहिएको अवस्थालाई जनाउँछ। यो समस्या मुख्यतः स्याउ भण्डारणका क्रममा कार्वन डाइअक्साइड ग्यासको मात्रा १ प्रतिशतभन्दा बढी हुँदा उत्पन्न हुन्छ। बागवानी अनुसन्धान केन्द्र, राजिकोट, जुम्लाले गरेको अनुसन्धानअनुसार, 'रोयल डेलिसियस' र 'रेड डेलिसियस' जातका स्याउमा यो समस्या बढी देखिएको छ।

स्याउको भण्डारण प्रक्रिया वैज्ञानिक ढङ्गले नगर्दा स्वासप्रस्वास क्रिया (Respiration Rate) बढ्ने र भित्र कार्वन डाइअक्साइडको स्तर अस्वाभाविक रूपमा बढ्ने हुन्छ। यसले गर्दा स्याउको भित्री भागमा खतरनाक स्तरको बायोकेमिकल परिवर्तन हुन्छ, जसले भित्री भाग कुहिन्छ र स्वाद तथा गुणस्तरमा ठूलो ह्रास आउँछ।

यो समस्या मुख्यतः स्याउ टिपेपछि गलत तरिकाले राख्ने, प्याकेजिङ गर्ने, र ढुवानी व्यवस्थापन कमजोर हुँदा उत्पन्न हुने देखिएको छ। स्याउ टिपेपछि लामो समयसम्म भुइँमा खत्याएर राख्ने वा भेन्टिलेसन नभएका कार्टुनहरूमा प्याकेजिङ गर्दा स्याउ गुम्सिन्छन्। गुम्सिएका स्याउहरूले अत्यधिक स्वासप्रस्वास गर्दा कार्वन डाइअक्साइडको मात्रा बढ्छ, जसले फलको भित्री भागलाई बिगार्छ।

यस समस्याले उपभोक्तामा निराशा मात्र होइन, उत्पादन र विक्रीमा संलग्न कृषक तथा व्यवसायीलाई पनि आर्थिक र मानसिक तनाव दिइरहेको छ। उपभोक्ताले गुणस्तरीय स्याउको अपेक्षा राखे पनि समस्या भएको स्याउ किन्नुपर्दा उनीहरूको विश्वास कमजोर हुने खतरा छ। साथै, नेपाली स्याउको गुणस्तरमाथि प्रश्न उठेमा यो अन्तर्राष्ट्रिय बजारसम्म पुग्नसक्ने गम्भीर समस्या हो।

यस समस्यालाई समाधान गर्न कृषक, व्यवसायी, र सम्बन्धित निकायबीच समन्वय आवश्यक छ। नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त मुख्य वैज्ञानिक (S5) डा. गिरिधारी सुवेदीले नेपाली स्याउलाई गुणस्तरयुक्त बनाउनका लागि स्याउ टिप्ने समयदेखि भण्डारण, प्याकेजिङ, र ढुवानी प्रक्रियामा वैज्ञानिक विधि अपनाउनुपर्ने सुझाव दिएका छन्।
स्याउलाई टिप्नेदेखि बजारसम्म पुर्याउने प्रक्रियामा निम्न कुराहरू ध्यान दिनुपर्छ:
१. परिपक्व अवस्थाकाे स्याउ मात्र टिप्नुपर्छ । 
२. परिपक्व स्याउलाई टिपेपछि घाममा कहिल्यै पनि राख्नुहुदैन, छायाँमा राख्नुपर्छ । 
३. डाेकाे भित्र घाँस वा सल प्रयाेग गरेर संकलन केन्द्रमा पुर्याउनु पर्छ। 
४. संकलन केन्द्रमा स्याउलाई भूईमा खत्याएर राख्नुहुदैन ।
५. भेन्टिलेसनयुक्त १० के. जी क्षमता भएको कार्टुनमा मात्र प्याकेजिङ गरेर ढुवानी गर्नुपर्छ।कार्टुनको स्पेसिफिकेसन: ७ प्लाई, भारबहन क्षमता १८० PSI, हरेक तहमा डेक प्लेट राख्नुपर्छ। 

नेपाली स्याउको प्रतिष्ठा बचाउन कृषि क्षेत्रका सबै सरोकारवाला जिम्मेवार बन्न जरुरी छ। गुणस्तरीय उत्पादन मात्र होइन, सही भण्डारण र ढुवानी व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। वैज्ञानिक विधि अपनाउन सकिएमा मात्र नेपाली स्याउले आफ्ना उपभोक्ताको विश्वास जित्न सक्छ र अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो पहिचान बलियो बनाउन सक्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।