पाेखरा, ३० चैत २०८१– प्रकृति–मानव केन्द्रित जनअभियान, नेपालले हालको वातावरणीय संकट र सामाजिक असमानताका चुनौतीहरूको गम्भीरताबारे सचेत गराउँदै तत्कालीन कदम चाल्न सरकारलाई आग्रह गरेको छ। संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै जलवायु परिवर्तन, वायु प्रदूषण, तापक्रम वृद्धी लगायतका समस्याले देश र विश्वभर मानवीय जीवन संकटमा पारिरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि हाल वायु प्रदूषण नेपालमा गम्भीर जनस्वास्थ्य जोखिमको रूपमा देखा परेको छ, जहाँ प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (WHO) ले सिफारिस गरेकोभन्दा ४.९ गुणा बढी पुगेको छ। केही दिनयता काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको तथ्यांक पनि जनाइएको छ। सोमबारको ‘एयर क्वालिटी इन्डेक्स (AQI)’ अनुसार काठमाडौंको सूचकाङ्क २५६ पुगेको थियो, जुन "अत्यधिक अस्वस्थकर" श्रेणीमा पर्छ।
संगठनका अध्यक्ष बिन्दु राज सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “प्रकृति र मानव समाज दुवै सामाजिक पूँजी हुन्, जसको संरक्षण बिना विकास सम्भव छैन।” उनी भन्छन्, “आजका सरकार, राजनीतिक दलहरू र पूँजीवादी संरचनाहरूले प्रकृति र जीवनमैत्री प्रणालीमा रुपान्तरण नगर्ने हो भने मानव अस्तित्व नै संकटमा पर्न सक्छ।”
प्रेस विज्ञप्तिमा औद्योगिक क्रान्तिदेखि हालसम्मको कार्वन उत्सर्जन र वातावरणीय विनाशलाई विशेष रूपमा उल्लेख गर्दै, विश्वका सरकारहरूलाई यी समस्याहरूको समाधानका लागि गम्भीर सोच र रुपान्तरणकारी नीति अपनाउन आग्रह गरिएको छ।
प्रकृति–मानव केन्द्रित जनअभियानले सरकारसँग वातावरणीय संकट समाधान गर्न नीति र अभ्यास दुबैको स्तरमा आमूल परिवर्तन गर्न अनुरोध गर्दै, सबै नागरिक, संघ–संस्था र राजनीतिक पक्षहरूलाई पनि यो अभियानमा सहकार्य गर्न आह्वान गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।