गण्डकी विश्वविद्यालयको खेलकुदमा योगदान: विद्यार्थीको बहुआयामिक विकासमा महत्वपूर्ण भूमिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, गण्डकी प्रदेश
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरूको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्। पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिता को समापन समारोहमा बोल्दै मन्त्री थापाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्य सुधारमा ठोस योगदान पुर्‍याउने बताए।

मन्त्री थापाले गण्डकी विश्वविद्यालयको स्थापना प्रदेश सरकारले शिक्षाको क्षेत्रमा प्रत्यक्ष योगदान पुर्‍याउन गरेको पहलको उत्कृष्ट उदाहरण रहेको बताए। उनले भने, “पोखरा पर्यटन मात्र नभएर खेलकुदको गन्तव्य पनि हो। विश्वविद्यालयले खेलकुदलाई पाठ्यक्रममा समेटेर यस्ता कार्यक्रमहरू आयोजना गर्नु निकै प्रशंसनीय छ।”

प्रतियोगितामा पोखरा–१४ स्थित शहिद स्मृति माविले रोमाञ्चक खेलमा स्टेप बाई स्टेप माविलाई पराजित गर्दै उपाधि जित्यो। टाइव्रेकरमा ४–२ गोलको अन्तरले जित निकाल्दै शहिद स्मृतिले नगद १ लाख रुपैयाँ र रनिङ शिल्ड हात पारेको छ। उपविजेता स्टेप बाई स्टेप माविले नगद ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि शहिद स्मृतिका गोलरक्षक केश बहादुर रोक्का मगरले जिते। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

फाइनल खेल ४०-४० मिनेटको दुई हाफमा खेलाइयो। खेलको सातौं मिनेटमा सरुन सुनारले शहिद स्मृतिका लागि पहिलो गोल गरे। तर, २७ औं मिनेटमा निराजन मगरले बराबरी गोल फर्काउँदै स्टेप बाई स्टेपलाई पुनः खेलमा ल्याए।

खेलको ४७ औं मिनेटमा केश बहादुर रोक्का मगरले शहिद स्मृतिका लागि अर्को गोल गरे। खेलको ६१ औं मिनेटमा स्टेप बाई स्टेपका अवन रानाले दोहोरो पहेँलो कार्ड पाएर मैदान छोड्नुपरेपछि टिम १० खेलाडीमा खुम्चियो। अन्ततः इन्जुरी समयमा कुन्ज पौडेलले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याए। १०–१० मिनेटको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको नतिजा टाइव्रेकरले टुंग्याइएको थियो।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले पनि आफ्नो मन्तव्य राखे। समापन समारोहमा विजेता टिम तथा खेलाडीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा विश्वविद्यालयका रजिस्टार डा. कैलाश तिमिल्सिना र प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङको पनि उपस्थिति रहेको थियो।

प्रतियोगितामा कुल २३ विद्यालयको सहभागिता रहेको थियो। मन्त्री थापाले यस्ता कार्यक्रमहरूले प्रदेशमा खेलकुदको विकासमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15