जसपा गण्डकीको निर्णय: पार्टी पुनर्गठनका लागि तुरुन्तै केन्द्रीय बैठक राख्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा , २५ असाेज ०८२
जनता समाजवादी पार्टी (जसपा) गण्डकी प्रदेशको बैठक शनिबार दिउँसो ११ बजे प्रदेश पार्टी कार्यालय, पाेखरामा सम्पन्न भएको छ।
बैठकले हालैको जेनजी आन्दोलनमा भएका नरसंहारपूर्ण घटनाप्रति गहिरो भत्सर्ना व्यक्त गर्दै, मृतक युवापुस्ता—जेनजीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको क्षति प्रति बैठकले दुःख समेत व्यक्त गरेको छ। उक्त घटनाकाे गहिरो छानवीन गरि दाेषीलाई कारवाहि गरियोस् भन्ने जसपा गण्डकी माग रहेको छ। 

बैठकले लोकतान्त्रिक मूल्य, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका रक्षा तथा सुदृढीकरणका लागि देशभरका सबै जेनजी समूह र सचेत युवाहरूप्रति एकजुट भएर अघि बढ्न आह्वान गरेको छ।

बैठकमा उपस्थित नेताहरूले जसपाको केन्द्रीय नेतृत्वलाई तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेका छन्। उनीहरूले वर्तमान राजनीतिक परिस्थिति र जेनजी आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्न, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीलाई प्रमुख, पुर्ण समानुपातिक सांसद र विज्ञहरुबाट मन्त्रीमन्डल गठन,पहिचान सहितकाे संघियता, दल विहिन स्थानीयपालिका , २ पटकसम्म प्रधानमन्त्री र राष्ट्रपति बन्न पाउने व्यवस्था सहित एजेन्डा बनाएर समान धारणा राख्ने शक्तिहरूबीच एकीकृत दल निर्माणको पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

बैठकले जेनजी आन्दोलनको भावना र युवापुस्ताको आकांक्षा आत्मसात् गर्दै, जनता समाजवादी पार्टीलाई नयाँ पुस्तामुखी र विचारगत रूपमा पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

त्यसैगरी, छलफलमा सहभागी सदस्यहरूले २०४६ सालदेखि २०८२ सालसम्म सरकारी सुविधा उपभोग गरेका पूर्व प्रधानमन्त्रीदेखि पूर्व उच्च पदस्थ कर्मचारीहरूसम्मका सम्पत्तिको छानबिन गर्नुपर्ने माग पनि अघि सारेका छन्। भ्रष्टाचारमुक्त सुशासन र समतामूलक राज्य निर्माण अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता रहेको बिषयमा घनिभुत रुपमा बहस चलेको थियोे । 

बैठकमा गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज रुद्रबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघका इन्चार्ज धनप्रसाद तमाङ, सह–इन्चार्ज पानबहादुर घर्ती र केन्द्रीय सदस्य ज्ञानु आचार्य लगायतका नेताहरूले देशको राजनीतिक परिस्थिति, जेनजी आन्दोलनपछिको वातावरण, र लोकतान्त्रिक मूल्यको रक्षा सम्बन्धी धारणा राखेका थिए।

बैठकले अन्त्यमा देशको स्थायित्व, सुशासन र राष्ट्रिय एकताको पक्षमा सबै लोकतान्त्रिक शक्ति र सचेत नागरिकहरूलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अपिल गरेको छ।

#जसपा #गण्डकी #पाेखरा

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।