ज्ञानु आचार्य, ०३ फागुन २०८१।
पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरेको छ। पोखरा महानगरपालिकाको आयोजना र विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न घोषणा समारोहमा पर्यटकीय, सामाजिक तथा सांस्कृतिक संस्थाहरूको उल्लेखनीय उपस्थिति थियो।
पोखराको प्रदर्शनी केन्द्रमा आयोजित घोषणासभामा विभिन्न संघसंस्था, आमा समूह, झाँक्रीसहितका समूहहरूले सांस्कृतिक र्याली निकालेका थिए। कार्यक्रममा पोखराको मौलिकता झल्किने स्थानीय कृषि उत्पादन तथा हस्तकलासहितको प्रदर्शनी राखिएको थियो।
उद्घघाटन गर्ने क्रममा बेलुन उडाउँदा खाेज्दा विस्फोट भई दुर्घटना हुँदा कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो। उहाँहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। जहाँ उहाँहरू अहिले खतरामुक्त हुनुभएको जानकारी पाेखरा महानगरपालिकाकाे प्रर्वक्ता माेतिलाल तिम्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगर उपप्रमुख मञ्जुदेवी गुरुङ तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्नुभएको थियो। पोखरा महानगरपालिकाको आयोजनामा भएको भ्रमण बर्ष घोषणा कार्यक्रमले नेपालको पर्यटकीय राजधानी पोखरा र समग्र गण्डकी प्रदेशभित्र पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले बताउनुभयो ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखरा महानगरपालिकाले भ्रमण वर्षको अवसरमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक पोखरा भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ। पर्यटन प्रवर्द्धनका लागि पोखरा महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा १,५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यसअन्तर्गत विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी, स्थानीय संघसंस्था तथा पर्यटन प्रवर्द्धनमा संलग्न निकायहरूलाई समेट्दै ४३ वटा उपसमितिहरू गठन गरेको छ।
पोखरा भ्रमण वर्षका विशेष कार्यक्रमहरू
पोखरालाई ब्रान्डिङ गर्ने उद्देश्यसहित स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न विभिन्न प्रचारात्मक तथा पूर्वाधार विकासका योजनाहरू अगाडि सारिएको छ। पर्यटन प्रवर्द्धनका लागि नेपालका ५ तथा विदेशका ५ सहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरिएको छ। पोखराका प्रमुख पर्यटकीय स्थलहरूलाई अझ व्यवस्थित बनाउँदै नयाँ गन्तव्यहरू विकास गर्ने याेजना प्रस्तुत गरिएको छ।
पोखरालाई प्रवर्द्धन गर्न नेपाल सरकार, गैरआवासीय नेपाली संघ (NRNA), नेपाल पर्यटन बोर्ड, विभिन्न दूतावास तथा कूटनीतिक निकायहरूसँग सहकार्य गर्ने, विदेशका विभिन्न सहरमा पोखरा प्रचार-प्रसार गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने, पोखरामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई यहाँ बैठक, सम्मेलन तथा विशेष कार्यक्रम आयोजना गर्न प्रेरित गरी पाेखरा भ्रमण बर्ष २०२५ सफल पार्ने लक्ष्य लिईएको छ।
नयाँ पर्यटकीय पूर्वाधार विकास
पोखरामा पर्यटन पूर्वाधार विस्तार गर्दै केही नयाँ संरचनाहरू निर्माण गर्न मुक्तिनाथ क्षेत्र प्रवेशद्वार, बोटानिकल गार्डेन, एयरपोर्ट-लेकसाइड द्रुतमार्ग, हेरिटेज साइट, पंचासे क्षेत्र विकास, १० ताल जोड्ने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला तथा फेवा किनार व्यवस्थापन, रोयल ट्रेलको पुनरुत्थान लगायतका परियोजनाहरू अघि बढाउने , पोखरामा ‘पोखरा घर’ निर्माण, जसमा सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, आधुनिक शौचालय तथा स्नान कक्ष समेटिने याेजना रहेको छ।
हवाई तथा यातायात सुविधा विस्तार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मित्रराष्ट्र चीनसहित अन्य देशहरूसँग सिधा उडान सञ्चालनका लागि पहल गरिने भएको छ। पोखराभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँदै स्मार्ट यातायात प्रणालीको विकास गरि पर्यटकको सुविधाका लागि हरित यातायात तथा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गरिने याेजना रहेको छ।
स्वास्थ्य, स्वच्छता तथा वातावरण संरक्षण
पर्यटनसँगै स्वास्थ्य, सरसफाइ तथा वातावरणीय स्वच्छतालाई पनि प्राथमिकता दिइएको छ। सेवा क्षेत्रमा संलग्न पर्यटन व्यवसायीहरूलाई खाद्य सुरक्षा, वातावरणीय स्वच्छता तथा व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरि पोखराका मुख्य पर्यटकीय क्षेत्रहरूलाई अझ स्वच्छ र हराभरा बनाउन विशेष सरसफाइ अभियान सञ्चालन गर्ने याेजना रहेको छ।
पर्यटकका लागि विशेष छुटसहित आकर्षक प्याकेजहरू
पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन विभिन्न पर्यटन व्यवसायी, होटल तथा सेवा प्रदायक संस्थाहरूले पर्यटकहरूका लागि विशेष छुटसहितका प्याकेज उपलब्ध गराएका छन्।
होटल संघ पोखराले पर्यटकका लागि २० प्रतिशत छुट दिनेछ भने, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले विशेष छुटसहित छुट्टै मेनुको व्यवस्था गर्नेछ। नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकीले १५ प्रतिशत छुटसहित विशेष टुर प्याकेज उपलब्ध गराउनेछ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले ट्रेकिङ प्याकेजमा १५ प्रतिशत छुट दिनेछ भने, प्याराग्लाइडिङ तथा साहसिक खेलहरूमा पनि छुट दिइनेछ। पोखरा अल्ट्रालाईट, एभिया क्लब पोखरा, बेलुन नेपाल, हाई ग्राउण्ड नेपाल लगायतका संस्थाहरूले अल्ट्रालाईट, बन्जी जम्प, जिपलाइन, हॉट एयर बेलुन जस्ता गतिविधिमा १५ प्रतिशत छुट दिनेछन्।
पोखरामा सञ्चालन हुने ट्याक्सी सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। गार्मेन्ट तथा ट्रेकिङ सामग्री खरिदमा १०-१५ प्रतिशत छुट पाइनेछ। जलयात्रा, पर्वतारोहण तथा ग्रामीण होमस्टेमा समेत विशेष छुटको व्यवस्था गरिएको छ।
पोखरा भ्रमण वर्ष २०२५ को महत्त्व
पोखरालाई पर्यटकीय रूपमा थप स्थापित गर्न र दिगो पर्यटन प्रवर्द्धन गर्न यो भ्रमण वर्ष विशेष अवसर बन्ने अपेक्षा गरिएको छ। स्वच्छ पोखरा, स्वस्थ्य पोखरेली तथा समृद्ध पर्यटनको नाराका साथ अघि बढेको यो अभियानले पर्यटन क्षेत्रको आयआर्जन वृद्धिसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ।
नेपाल सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा पोखरा भ्रमण वर्ष २०२५ भव्य रूपमा मनाइनेछ। यस अभियानले रोजगारी सिर्जना, व्यवसाय प्रवर्द्धन, पोखराको ब्रान्डिङ, आर्थिक समृद्धि र दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।