जनकपुर , ०३ पाैष
महावीर पुनको नेतृत्वमा रहेको टोलीले आज साँझ ७ बजे मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह सँग विशेष भेटघाट गरेको छ। भेटघाटका क्रममा मुख्यमन्त्री सिंहले बीरगञ्ज कृषि औजार कारखानाको विकासका लागि यस आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभएको छ।
उहाँले सो बजेटबाट अत्यावश्यक मेशिनहरू खरिद गरी कारखानालाई हस्तान्तरण गरिने बताउँदै कारखानामा अनुसन्धान तथा विकास (R&D) प्रयोगशाला स्थापना गर्न प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको छ। मुख्यमन्त्रीले कृषि औजार निर्माणमा अनुसन्धान र प्रविधिको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै, कारखानाले आफ्नै योजनासहित प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
महावीर पुनले यस भेटघाटलाई प्रदेशको विकासका लागि सकारात्मक पहलको रूपमा लिँदै अनुसन्धान र नवप्रवर्तनमार्फत कृषि औजार उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन सकिने बताउनुभयो।
मुख्यमन्त्रीले बजेट र अनुसन्धान प्रयोगशालाको प्रस्तावले बीरगञ्ज कृषि औजार कारखानाको दीर्घकालीन विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। अबको चरणमा कारखानाले अनुसन्धान प्रयोगशालाको विस्तृत योजना तयार गरी प्रदेश सरकारलाई पेश गर्ने तयारी गर्नेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।