आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा भने प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि फरक निर्णय भएको हो ।
म्याद थपका दिन प्रदर्शन गर्दा न्यायालयलाई प्रभाव पार्नका लागि पार्टी अगाडि बढेको हो कि भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । एकातिर केन्द्रीय समिति बैठक नबसी दोस्रो चरणको आन्दोलनको घोषणा भएको र अर्कोतिर स्थानीय तह उपनिर्वाचनका लागि प्रचारप्रसारलगायत काम नभएको भन्ने विषय पनि बुधबारको केन्द्रीय समितिमा उठेको थियो ।
रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा मंगलबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । बैठकमा आगामी शनिबारका लागि घोषणा गरिएको विरोध प्रदर्शनको तयारीबारे छलफल गर्ने भनिएको थियो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने र त्यसो गर्दा नकारात्मक सन्देश जाने धारणा राखेका थिए । केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । लामिछानेलाई पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि भेटेका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल र परियार फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।