बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, १६ चैत ०८१
बागलुङ उद्योग वाणिज्य संघको ६१औं वार्षिक साधारण सभा तथा १९औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा कुल १४५२ मतदाता मध्ये ११८७ मत खसेको छ। निर्वाचन शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको संघका अध्यक्ष नरेश कँडेलले बताएका छन्।
मतदान प्रक्रिया बिहानदेखि नै व्यवस्थित रूपमा सुरु भएको थियो। पहिलो मत टेकनारायण केसीले हालेका थिए भने अन्तिम तथा निर्णायक मत अभियानकर्मी एवं व्यवसायी एकबहादुर केसीले हालेका छन्।
मुख्य निर्वाचन अधिकृत भूमीराज गौतमका अनुसार मतगणना आज राति ८ बजेबाट सुरु हुनेछ। प्रतिस्पर्धी उम्मेदवारहरू – राजन कुमार शाक्य र उमाकान्त शर्मा दुवैले चुनावी प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन्।
संघको नेतृत्व कसले लिने भन्ने प्रश्नको उत्तर भोलि दिउँसोसम्म स्पष्ट हुने अपेक्षा गरिएको छ। अध्यक्ष पदका प्रत्याशी शाक्य र शर्माले अन्तिम नतिजा भोलि दिउँसोसम्म आउने बताएका छन्।
बागलुङ उद्योग वाणिज्य संघको यो निर्वाचन व्यवसायिक हित, आर्थिक विकास, र उद्यमशीलताको प्रवर्द्धनका हिसाबले निकै महत्वपूर्ण मानिएको छ। नयाँ नेतृत्वले व्यवसायीहरूका हित संरक्षण गर्दै संघलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।