चिसो मौसममा आगो ताप्ने र गिजर चलाउँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,  २६ पाैष २०८१

जाडो याममा आगो ताप्ने, हिटर बाल्ने, र गिजर जस्ता उपकरण प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना हुने खतरा बढिरहेको छ। यो अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सजग रहन विशेष अपिल गरेको छ।

प्रत्येक वर्ष यस्ता उपकरणको असावधानीपूर्ण प्रयोगले दुर्घटना, स्वास्थ्य समस्या, र मृत्युका घटनाहरू निम्त्याउँदै आएको मन्त्रालयले जनाएको छ। यस वर्ष पनि केही मानिसहरू हिटर र गिजरको असुरक्षित प्रयोगका कारण अस्पतालमा उपचाररत छन्।
हिटर, गिजर, वा आगो ताप्ने साधनहरू हावा नचल्ने बन्द कोठामा प्रयोग गर्दा कार्बन मोनोअक्साइड (CO) ग्यास जम्मा हुनसक्छ। यो ग्यास गन्ध, रंग, र स्वादरहित भए पनि अत्यन्तै विषाक्त छ। लामो समय यसको सम्पर्कमा रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यानसमेत गुमाउन सकिन्छ।

सावधानी अपनाउने उपायहरू:

1. हावा चल्ने ठाउँमा मात्र प्रयोग गर्नुस्।
आगो ताप्ने र हिटर बाल्ने काम हावा ओहोरदोहोर हुने स्थानमा मात्र गर्नुहोस्।
2. कोइला प्रयोग नगर्नुस्।
सकेसम्म कोइला प्रयोगबाट जोगिनुहोस्। कोइला जल्दा विषाक्त ग्यास बढी निस्कन्छ।
3. गिजरको सुरक्षित जडान गर्नुस्।
गिजरलाई बाथरुमको बाहिर खुला ठाउँमा जडान गर्नुहोस् र गिजर खोल्दै लामो समयसम्म बाथरुममा नबस्नुहोस्।
4. आगो तापेपछि पूर्ण रूपमा निभाउनुहोस्।
आगो वा हिटर बाल्दा छिटो बल्ने सामग्रीहरू (कागज, कपडा आदि) नजिक नराख्नुहोस्।


यदि टाउको दुख्ने, रिंगटा चल्ने, वा अन्य असहजता महसुस भएमा तुरुन्त झ्याल ढोका खोल्नुस्, खुला ठाउँमा जानुस्, र यदि अवस्था सुधार भएन भने तुरुन्त अस्पताल जानुस्।
स्वास्थ्य समस्या आएमा तत्काल मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सकिने मन्त्रालयले जनाएको छ।
“चिसो मौसममा न्यानोका लागि हिटर र गिजरको प्रयोग गर्नु सामान्य हो। तर, सावधानी नअपनाउँदा यो ज्यानमारा पनि बन्न सक्छ। सजगता अपनाएर आफ्नो र आफ्नो परिवारको जीवन सुरक्षित राख्न हामी सबैमा अनुरोध गर्दछौं,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति मार्फत् जानकारी दिए। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।