तनहुँ, पुस १५
किसान पेशाको संरक्षण र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको सदरमुकाम दमौलीमा नवौं तनहुँ महोत्सव आयोजना गरिने भएको छ। महोत्सव पुस २५ गतेदेखि माघ ७ गतेसम्म तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना र दमौली बजार इकाईको सहआयोजनामा हुनेछ।
"तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार" भन्ने मूल नाराका साथ महोत्सवमा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ। तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रका अनुसार, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसक्दा पेशाबाट पलायन हुने र जमिन बाँझो राख्ने समस्या बढ्दै गएको छ। यस समस्या समाधान गर्न किसानको उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा कृषकका लागि विशेष सुविधा प्रदान गरिनेछ। किसानलाई स्टल निःशुल्क उपलब्ध गराइनेछ भने स्थानीय तहको समन्वयमा निशुल्क ढुवानीको व्यवस्था गर्न पहल भइरहेको मिश्रले जानकारी दिए। उत्कृष्ट किसानलाई सम्मान गरेर प्रोत्साहन गरिने पनि उनले बताए।
महोत्सवमा स्थानीय कृषि उपज, हस्तकला, दुग्धजन्य उत्पादन, मत्स्यजन्य परिकार, अन्नबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ, महलगायतका सामग्रीको प्रदर्शनी हुनेछ। साथै, उन्नत एवं हाइब्रिड बीउका जानकारी र कृषि उत्पादन प्रविधिहरूको प्रदर्शन गरिनेछ।
महोत्सवले बेरोजगार युवालाई व्यावसायिक कृषि पेसामा आकर्षित गर्ने, विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा पुन:स्थापित गर्ने, तथा स्थानीय पर्यटन, धार्मिक र ऐतिहासिक स्थलहरूको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
तनहुँ उद्योग वाणिज्य संघका महासचिवका अनुसार, महोत्सवमा २०० स्टल रहनेछन्, जसमध्ये १०० स्टल पहिले नै बुक भइसकेका छन्। महोत्सवले किसानको आर्थिक स्थिति सुधार गर्न र व्यावसायिक कृषि प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।