भरतपुर ।
चितवनको भरतपुर महानगरपालिका वार्ड नं १५ को रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पाँच वर्षपछि दोश्रो संस्करणको कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ आयोजना गर्ने भएको छ । यहि मंसिर २९ गतेदेखि पुष ३ गते सम्म विश्वविधालयको कृषि संकायको प्रांगणमा संचालन हुने यो मेला "कृषि रुपान्तरणको प्रमुख आधार, नवप्रवर्तन, उधम र प्रविधि विस्तार" भन्ने मूल नाराका साथ हुने निमित्त उपकुलपति तथा कृषि डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठ ज्यू को अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जानकारी भएको थियो ।
मेलाले कृषि क्षेत्रमा नयाँ सम्भावना र अवसर खोज्न किसान, उधमी , अनुसन्धानकर्ता र बिधार्थीहरुलाई अत्याधुनिक प्रविधि र सीपबारे जानकारी प्राप्त गर्ने सुनौलो अवसर प्रदान गर्ने गरि १३५ भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् साथै कृषि क्षेत्रमा देखिएका जटिल समस्या समाधानको लागी नीतिगत बहस र समूहगत छलफल गर्न दिगो पशुपालन र भेटनरी सेवा, मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन, कृषि रुपान्तरण र उधमशीलता प्रवद्र्धन लगायतका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
निमित्त उपकुलपति प्रा.डा.अर्जुनकुमार श्रेष्ठका अनुसार, "मेला अवधिमा उत्कृष्ट उद्यमशीलता प्रदर्शन गर्ने रामपुर क्याम्पसका पूर्वविद्यार्थीहरू तीनजनालाई विशेष पुरस्कार प्रदान गरि सम्मान गरिनेछ। कृषि शिक्षा र उद्यमशीलता सँगै अघि बढ्नुपर्छ। यो मेला त्यसका लागि प्रेरणादायी बन्नेछ",उहाँले बताउनुभयो।
मेलाका संयोजक ऋषिराम कट्टेलले "कृषि प्रदर्शनी तथा कृषक मेला-२०८१" गर्नुको उद्देश्य, र मुख्य कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। संयोजक कट्टेलले मेलालाई अबदेखि हरेक दुई वर्षमा नियमित आयोजना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार, यो मेला किसान र प्रविधिबीचको दुरी घटाउँदै नेपालमा कृषि क्षेत्रको भविष्य निर्माण गर्ने प्रयास हो।कृषि प्रदर्शनी तथा किसान मेला – २०८१’ केवल प्रदर्शनी मात्र नभई कृषि, नवप्रवर्तन, र उद्यमशीलताको उत्सव बन्ने अपेक्षा गरिएको छ। यसले किसान, नीति निर्माता, र अनुसन्धानकर्ताबीच सहकार्यको नयाँ आयाम खोल्दै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।
कृषि प्रदर्शनी तथा कृषक मेलाका आर्कषणहरुमा विभिन्न कृषिजन्य उत्पादनहरूको प्रदर्शनी, प्राविधिक छलफल, मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी जानकारी, र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। निमित्त उपकुलपति श्रेष्ठले मेलाको महत्त्वलाई जोड दिँदै यसले कृषि शिक्षाको विस्तार, अनुसन्धान र नवप्रवर्तनलाई समुदायस्तरमा जोड्न भूमिका खेल्ने बताउनुभयो। मेला आयोजकका अनुसार किसान, व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी, र बुद्धिजीवी गरी १० हजारभन्दा बढी सहभागी हुने अनुमान रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।