कविता : मलाई अस्वीकार छ ।
-उत्सव चौलागाईं
विश्वविद्यालयको
कानको गोजीभित्र
हालिदिएर हेयरिङ एड
सुनाउनु छ
भेन्टिलेसन मसाज गरिरहेको घामको सुसेली
भिजाउन खेतको कलेटी ओठ
कुलोले खोलिरहेको चुकुल हेर्न
आँखामा थपिदिनु छ एक चन्द्रमा उज्यालो
कुहिरोले ढाकिरहेको चिसो छोप्न
ओढाइदिनु छ
न्यानो अक्षरको छाला आङमा
आकाशमाथि उडिरहेको जुनकिरीजस्तो
अँध्यारो गालाको कुनाकाप्चाभित्र
टाँसिदिनु छ चम्किला तारा
बाटो बनाउँदै हिँडिरहेको खुट्टाको पनि
किन लाग्छ बाडुल्की ऐनालाई ?
आँगनमा नाँचिरहेको करेसाले
आपसमा खेलिरहेको रक,पेपर र सिजरको
समाजशास्त्र के हो ?
स्पष्ट कोर्नु छ मार्गदर्शक सिद्धान्त
समता फुलाउँदै बगैँचाको सुगन्धभरि
समावेशी चेतनाको खुट्किला चढेर
भर्नु छ इन्जिनियरिङ मस्तिष्क
तोप चराझैँ
उमार्नु छ छातीभरि
रिसालु ढुङ्गाबाट बुद्धमुर्ति बनाउने कला
सांस्कृतिक जराको सिँयालमा
स्वपहिचान खोज्ने इच्छाशक्ति
चलाउनु छ
पसिनाले समाइरहेको माटोको अौँला
आँसुले उत्पादन गरिरहेको हरियो आवाज
हिमालले काखमा राखेर
माडिरहेको पहाडको मैलो घाँटी
ढाडको घमौरा मार्दै
तराईको कपालमा ठुङ हानिरहेको
प्रेमको कार्यशाला
अब गर्नु छ हामीले
आफ्नै विश्वविद्यालयमा
प्राकृतिक पाठ्यक्रमको गर्भधारण
प्रिय !
मलाई अस्वीकार छ
डिपेन्डेन भिजा र पिआर ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।