"मेराे म"
आफ्नो म को खोजी मा हिँडिराको छु म आजकल
यता उता चारैतिर खोजी राछन् आँखा आफैलाई हरपल
हिउँदको यो अथा जाडोमा पनि भाको छु म खलखल
आफ्नै यादले सताछ लागेको छ मलाई धेरै तलतल।
चुलबुले चन्चले मिलनसार स्वभावको त्यो म
हराएछु आजकल खोई थाहा छैन कता छु म
सबैले सधैँ आफ्नो आँखासामु देखिराको त्यो म
तर मेरै आँखाबाट खोइ कुन्नी किन बिलिन भाको छु म।
अनेक कोसिस गरेछु भेट्छु कि भनी कतै मेरो म
आफ्नाको साथमा रुमलिरहेको मात्र देख्छु मेरो म
यसको लागि उसको लागि त्यसको लागि दौडिराको मेरो म स्वयंको लागि चुपचाप गुमसुम बसेको देख्छु मेरो म।
अनन्त सागर जस्तो गहिरो बन्धनमा फसेको म
खुला आकाशमा उड्ने प्रयासमा बसेको म
साथी संगी आफन्तको जनजालले कसेको म
आफ्नै खोजीमा भौतारिँदै लड्दै बसेको देख्छु म।
खोई मेरो आफ्नो चाहनाहरु कता हराएछ
आफूभित्र छ होला जस्तो यति सारो किन डराएछ
मनभित्र चर्को चर्को चिच्याएछ कराएछ
मेरा आफ्ना खुट्टाहरु किन आफै डगमगाएछ।
मेरो मलाई मैले खोज्नु छ पहिचान दिनु छ
जो जो सँग बसेको छ सबसँग फिर्ता लिनु छ
म, म भित्रको म र केवल म अनि मेरो म
स्वतन्त्रताको स्वासको खोजीमा हिँडेराको छु म।।
✍️ कृष्ण बहादुर क्षेत्री (कृष्ण आर सी)
ठेगाना : पाेखरा महानगरपालिका -३०, शिशुवा ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।