पोखरा, ९ पाैष ।
नेपालको पर्यटकीय राजधानी पोखरामा पहिलो पटक बि वाई डि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। पुस ९ देखि १७ गतेसम्म पोखराको पामे क्षेत्रमा आयोजना हुने यस महोत्सवले साहसिक खेलकुदमार्फत पोखराको पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
महोत्सवको विशेषता
महोत्सव अवधिमा १५ देशका पाइलटहरूको सहभागितासहित २० भन्दा बढी देशका प्रतिनिधिहरूले पोखराको आकाशमा हट एयर बेलुन उडाउन सहभागी हुनेछन्। एक पटकमा ८ जना पर्यटक उडाउन सक्षम हट एयर बेलुन बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जमिनको सतहदेखि ५,००० फिटसम्म उचाइ निर्धारण गरेको छ।
पोखराको आकाशबाट उत्तरतर्फका हिमाल, पोखरा सहर, फेवाताल, र यस क्षेत्रका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने छ। सुरक्षाका लागि महोत्सव अवधिभर पामे आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारी गरिएको छ।
सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रम
महोत्सवमा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षण हुनेछ। स्थानीय सांगीतिक समूहहरूसँगै दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, र कुमा सागर एण्ड ख्वपः ब्यान्ड का प्रस्तुति रहनेछ।
अन्तर्राष्ट्रिय सहभागिता
यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, र भियतनामसहित २० भन्दा बढी देशका सहभागीहरूले उत्साहजनक उपस्थिति जनाउनेछन्।
वि.सं. २०७३ मा स्थापना भएको बेलुन नेपाल प्रा.लि. ले २०७५ देखि पोखरामा व्यवसायिक रूपमा हट एयर बेलुन उडान गर्दै आएको छ। कम्पनीले गत वर्ष थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेशनल बेलुन फियस्टा २०२४’ मा समेत सहभागिता जनाएको थियो।
कार्यक्रमका ब्रान्ड एम्बासडर तथा महानायक राजेश हमाल ले महोत्सवले पोखरालाई साहसिक खेलकुदको गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको यो महोत्सवले साहसिक पर्यटनका लागि पोखरालाई अझ थप पहिचान दिने आयोजकहरूको अपेक्षा छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।