बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, ९ माघ २०८२ ।

ज्ञामनाथ गैरे 'अनिल' नेपाली कम्युनिस्ट पार्टीको बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फकाे उम्मेदवार हुन्। नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमाेर्चा पार्टी  दुवैले  साझा उम्मेदवारकाे रुपमा अगाडि सारेका गैरे चुनावी मैदानमा सकृय रहेका छन् ।  आफ्नो सामाजिक संजाल फेसबुक मार्फत्  बागलुङ क्षेत्र नम्वर २ का मतदाताहरुलाई आफ्नो प्रतिबद्धता सार्वजनिक गरि मत दिनकाे लागि अपिल गरेका छन् । 

"आदरणीय मतदाता आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, 
अभिवादन र न्यानो सम्झना ! 
गत भदौ २३ र २४ गतेको त्यो बलिदानीपूर्ण 'Zen-Z' विद्रोह पछि देशमा नयाँ राजनीतिक परिस्थितिको उदय भएको छ । भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि नेपाली युवाहरूले गरेको त्यो शंखघोषले आज हामीलाई प्रतिनिधि सभाको ताजा जनादेशमा उभ्याएको छ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट 'तारा' चुनाव चिन्ह लिई म ज्ञामनाथ गैरे ‘अनिल’ तपाईँहरूको सेवा गर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उपस्थित भएको छु । हामी किन परिवर्तन चाहन्छौँ ? विगतका दशकौँदेखि २०४६ र २०६२/६३ का युगान्तकारी परिवर्तनहरू भए । तर, हाम्रो निर्वाचन क्षेत्रको अवस्था उस्तै रह्यो । यस क्षेत्रबाट पटक-पटक निर्वाचित भएर जाने पुराना नेतृत्वले खुद्रा विकास बाहेक कुनै देखिने परिवर्तन ल्याउन सकेनन् । आज हाम्रा गाउँहरू रित्तिँदै छन् : 

• कमजोर पूर्वाधार: सडकको अवस्था दयनीय छ, जसले गर्दा हाम्रो यात्रा असुरक्षित र कष्टकर छ । 

• शिक्षा र स्वास्थ्य: सरकारी विद्यालय र अस्पतालहरूको गुणस्तर कमजोर हुँदा हाम्रा बालबालिका र वृद्धवृद्धाहरू आधारभूत सुविधाबाट वञ्चित छन् । 

• कृषिको बेहाल: कृषि र पशुपालनको व्यवसायीकरण हुन सकेको छैन । दुःख गरेर उब्जाएको बालीले बजार पाउँदैन, बरु बाँदर, बँदेल र दुम्सीले किसानको गाँस खोसेका छन् । 

• युवा पलायन: घर खर्च चलाउनकै लागि हाम्रा नौजवान साथीहरू आफ्नो जीवन बिदेशमा बन्धकी राख्न बाध्य छन् । 

अबको विकल्प: नयाँ सोच र इमानदार नेतृत्व सबल र समृद्ध देश बनाउने जिम्मा अब असफल भइसकेका पुराना दलहरू (कांग्रेस, एमाले) वा विचार र योजना नभएका नयाँ शक्तिहरूबाट सम्भव छैन । हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले संसद्‌मा प्रभावकारी नीति निर्माण गरोस् र बजेट व्यवस्थापनमा इमानदार भूमिका निर्वाह गरोस् । 

मेरा मुख्य प्रतिबद्धताहरू: 
१. सुशासन: भ्रष्टाचारको अन्त्य गरी सरकारी सेवालाई पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्ने ।
 २. स्वदेशमै रोजगारी: नेपाली युवाको श्रम र सीप स्वदेशमै प्रयोग हुने वातावरण निर्माण गर्ने । 
३. किसानको सुरक्षा: जंगली जनावरबाट बालीनाली जोगाउने वैज्ञानिक समाधान र उत्पादित वस्तुको उचित मूल्य सुनिश्चित गर्ने । 
४. गुणस्तरीय पूर्वाधार: शिक्षा, स्वास्थ्य र सडक सञ्जाललाई प्राथमिकताका साथ आधुनिकरण गर्ने । 

आदरणीय मतदाताज्यूहरू, लोकतन्त्रमा जनमत नै निर्णायक शक्ति हो । यो मत केवल एउटा व्यक्ति छान्ने माध्यम मात्र होइन, हाम्रो भावी पुस्ताको भविष्य निर्माण गर्ने अवसर पनि हो । कुनै एक व्यक्तिलाई बिना परिणाम जीवनभर नेता मानिरहन अब यो क्षेत्रका सचेत मतदाता तयार छैनन् भन्ने मेरो दृढ विश्वास छ । त्यसैले, नयाँ सोच, नयाँ जाँगर र स्पष्ट दृष्टिकोणका साथ देश र जनताको सेवा गर्न मलाई 'तारा' चिन्हमा मतदान गरी विजयी गराउनुहुन विनम्र अनुरोध गर्दछु । तपाईँको अमूल्य मत, समृद्धिको आधार ! "

विनीत, ज्ञामनाथ गैरे ‘अनिल’ 
उम्मेदवार, प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष) 
बागलुङ क्षेत्र नम्बर २ चुनाव चिन्ह: तारा ⭐

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।