पोखरा, जेठ २०, २०८३ ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा एकल महिलाहरूको सशक्तीकरण अन्तर्गत क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको नेतृत्व विकास, मनोसामाजिक परामर्श, कानुनी सचेतना, उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी तीनदिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोखरा–८, सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा जेठ १७ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका एकल महिलाहरूको सहभागिता रहेको थियो।
“वैवाहिक सम्बन्धको आधारमा विभेद नगरौँ” भन्ने नारासहित आयोजित तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एकल तथा सीमान्तकृत महिलाको मानवअधिकार संरक्षण, कानुनी सचेतना र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने बताएकी थिईन्।
उनले एकल महिलाले अझै पनि सामाजिक, मानसिक तथा कानुनी चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र नेतृत्वदायी भूमिकामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । “एकल हुनु महिलाको कमजोरी, दोष वा पूर्वजन्मको फल होइन, जीवनको एउटा परिस्थिति मात्र हो,” उनले सम्वाेधनका क्रममा व्यक्त गरिन् ।
उपप्रमुख गुरुङले संविधानले सुनिश्चित गरेका महिला अधिकारको प्रभावकारी उपयोग गर्दै महिलाहरू स्थानीय, प्रदेश तथा संघीय तहको नेतृत्वमा पुग्नुपर्नेमा जोड दिईन्। साथै आगामी निर्वाचनहरूलाई लक्षित गर्दै महिलाहरू केवल मतदाता मात्र नभई नीति निर्माण तहका प्रतिस्पर्धी उम्मेदवारका रूपमा स्थापित हुनुपर्ने धारणा राखेकी थिईन्।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुङ्गाना लगायतले एकल महिलाको अधिकार, समानता र सशक्तीकरणका विषयमा धारणा राखेका थिए। कार्यक्रमकाे अध्यक्ष जूना केसीले समापन मन्तव्य व्यक्त गर्दै एकल महिलालाई कानुनी रूपमा सचेत, मानसिक रूपमा सबल तथा नेतृत्वदायी भूमिकाका लागि सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताईन् ।
तालिमको पहिलो दिन राष्ट्रिय मानवअधिकार आयोग, पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले “एकल महिला, महिला र मानव अधिकार” विषयमा सहजीकरण गरेकी थिईन्। उनले मानव अधिकार, महिला अधिकार, संवैधानिक व्यवस्था तथा एकल महिलाले प्राप्त गरेका कानुनी अधिकारबारे जानकारी दिईन् ।
त्यसैगरी नेतृत्व विकास तथा उद्यमशीलता प्रशिक्षक ज्ञानु आचार्यले “नेता र नेतृत्व विकास” विषयमा प्रशिक्षण दिईन् । उनले नेतृत्वको अवधारणा, नेतृत्वका गुण, प्रभावकारी नेतृत्व विकास, निर्णय क्षमता, आत्मविश्वास तथा समुदाय विकासमा नेतृत्वको भूमिकाबारे प्रशिक्षण दिएकी थिईन्।
दोस्रो दिन दुर्गा अधिकारीले उद्घोषणकला तथा भाषणकला विषयमा प्रशिक्षण दिएकी थिईन् । उनले सार्वजनिक रूपमा प्रभावकारी ढंगले बोल्ने कला, सञ्चार सीप, कार्यक्रम सञ्चालन तथा प्रस्तुतीकरणका व्यावहारिक पक्षबारे जानकारी गराएकी थिईन् ।
अधिवक्ता सरिता तिमिल्सिनाले कानुनी सचेतना विषयमा प्रशिक्षण दिँदै महिला अधिकार, सम्पत्ति अधिकार, घरेलु हिंसा, लैङ्गिक हिंसा तथा न्यायमा पहुँच सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिईन् ।
त्यसैगरी बिना सिलवालले मनोसामाजिक परामर्श विषयमा सहजीकरण गर्दै मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मसम्मान अभिवृद्धि तथा भावनात्मक सन्तुलनका विषयमा प्रशिक्षण दिईन् ।
तेस्रो दिन इन्दिरा पौडेलले “महिलाको अवस्था” विषयमा प्रशिक्षण दिईन्। उनले नेपाली समाजमा महिलाको वर्तमान अवस्था, अवसर, चुनौती तथा सामाजिक रूपान्तरणमा महिलाको भूमिकाबारे चर्चा गरेकी थिईन्।
समूहकी अध्यक्ष जूना केसीले “एकल महिलाको परिचय, संस्थाको अवस्था, समस्या तथा चुनौती” विषयमा सहजीकरण गर्दै एकल महिलाले भोगिरहेका सामाजिक, आर्थिक र मनोवैज्ञानिक समस्याका साथै संस्थाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धिबारे जानकारी दिईन्।
उनले उद्यमशीलता विकास तथा वित्तीय साक्षरता विषयमा समेत प्रशिक्षण दिँदै बचत, लगानी, साना उद्यम सञ्चालन, आयआर्जनका अवसर तथा आर्थिक आत्मनिर्भरताका उपायबारे सहभागीहरूलाई जानकारी गराएकी थिईन्।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विष्णु श्रेष्ठले गरेकी थिईन्। तालिममा सहभागी महिलाहरूले नेतृत्व विकास, कानुनी सचेतना, मनोसामाजिक स्वास्थ्य तथा आर्थिक सशक्तीकरण सम्बन्धी ज्ञान र सीप हासिल गरेको प्रतिक्रिया दिएकी छिन्।
आयोजक संस्थाले यस्ता क्षमता विकास, अधिकार सचेतना तथा सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ। तीनदिने तालिमले एकल महिलाको आत्मविश्वास वृद्धि, नेतृत्व क्षमता विकास, अधिकारप्रति जागरण तथा आर्थिक आत्मनिर्भरताको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रमकाे अध्यक्ष जुना केसी ले बताएकी छिन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।