"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य
३ चैत २०८२, पाेखरा ।
नेपालको कम्युनिस्ट आन्दोलन लामो संघर्ष, बलिदान र वैचारिक प्रतिबद्धताको इतिहास बोकेको आन्दोलन हो। तर आजको यथार्थ हेर्दा, यो आन्दोलन आफ्नो मूल उद्देश्यबाट केही हदसम्म विचलित हुँदै गएको देखिन्छ। जनताको आशा र भरोसालाई दीर्घकालीन रूपमा कायम राख्न अब कम्युनिस्ट पार्टीहरूले आफूलाई पुनः सुदृढ बनाउन गम्भीर आत्मसमीक्षा र रूपान्तरण आवश्यक भएको छ।
नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासमा जनताको अपार समर्थन पाएको छ। तर पछिल्ला निर्वाचन परिणामहरूले एउटा स्पष्ट सन्देश दिएका छ: जनमत स्थिर हुँदैन, त्यो काम, व्यवहार र परिणामले बदलिन्छ। जनताको मत केवल जित्ने माध्यम होइन, त्यो विश्वास, आशा र अपेक्षाको अभिव्यक्ति हो। त्यसैले आजको मूल प्रश्न हो—जनमतको सम्मान गर्दै कम्युनिस्ट पार्टीलाई कसरी सुदृढ बनाउने?
सबैभन्दा पहिले, जनमत स्वीकार गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ। हारलाई षड्यन्त्र भन्दै पन्छाउने होइन, त्यसलाई आफ्ना कमजोरीहरूको ऐना मानेर सुधारको आधार बनाउनुपर्छ। जनताले किन असन्तुष्टि जनाए? किन वैकल्पिक शक्तिहरू उदाए? यी प्रश्नहरूको इमान्दार उत्तर खोज्नु नै सुदृढीकरणको पहिलो र अनिवार्य पाइला हो।
दोस्रो, जनतासँगको प्रत्यक्ष सम्बन्ध पुनःस्थापना अपरिहार्य छ। चुनावका बेला मात्र होइन, निरन्तर जनताको घरदैलोमा पुग्ने, उनीहरूको समस्या सुन्ने र समाधानमा सक्रिय रूपमा जोडिने अभ्यास विकास गर्नुपर्छ। “जनताको पार्टी” भन्ने नारा कागजमा होइन, व्यवहारमा देखिनुपर्छ। जनताको दुःखमा साथ दिने र सुखमा सहभागी हुने राजनीतिक संस्कार नै संगठनको वास्तविक शक्ति हो।
तेस्रो, सत्ता केन्द्रित सोचबाट सेवा केन्द्रित राजनीतितर्फ रूपान्तरण गर्नैपर्छ। पछिल्लो समय कम्युनिस्ट आन्दोलनमाथि लागेको सबैभन्दा ठूलो आरोप नै सत्ता मोह हो। तर वास्तविकता के हो भने, सत्ता लक्ष्य होइन—साधन हो। जनताको सेवा, सामाजिक न्याय र समतामूलक विकासका लागि सत्ता प्रयोग गर्न सके मात्र यसको औचित्य पुष्टि हुन्छ। अन्यथा, सत्ता आफैंमा निरर्थक हुन्छ।
चौथो, विकासको स्पष्ट, यथार्थपरक र कार्यान्वयन योग्य मार्गचित्र प्रस्तुत गर्नुपर्छ। “कस्तो विकास? कसरी विकास? कहाँ विकास?” भन्ने प्रश्नमा गहिरो बहस र ठोस योजना बिना समृद्धि सम्भव छैन। टपरटुइँया गफ, नाराबाजी र भावनात्मक भाषणले अब जनतालाई विश्वस्त पार्न सक्दैन। स्थानीय आवश्यकता र स्रोतमा आधारित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै परिणाममुखी योजना अघि सार्नुपर्छ।
पाँचौँ, आन्तरिक लोकतन्त्र, अनुशासन र पारदर्शिता सुदृढ गर्नुपर्छ। गुटबन्दी, व्यक्तिवाद र अवसरवादले संगठनलाई कमजोर बनाएको यथार्थ अब लुकाएर बस्ने अवस्था छैन। नेतृत्व चयनदेखि निर्णय प्रक्रियासम्म पारदर्शिता, सहभागिता र जवाफदेहिता सुनिश्चित गर्न सके मात्र पार्टीभित्र र बाहिर दुवैतर्फ विश्वास बढ्न सक्छ।
छैटौँ, युवा पुस्तासँग सशक्त सम्बन्ध निर्माण गर्नुपर्छ। आजको युवा केवल नाराले प्रभावित हुँदैन; उसले अवसर, परिणाम र भविष्य देख्न चाहन्छ। प्रविधि, नवप्रवर्तन,कृषि , उद्यमशीलता र रोजगारीसँग जोडिएका ठोस कार्यक्रममार्फत युवालाई आन्दोलनमा जोड्न सकेन भने, कम्युनिस्ट आन्दोलनको भविष्य कमजोर बन्दै जाने निश्चित छ।
अन्ततः कम्युनिस्ट पार्टी सुदृढीकरणको मूल मन्त्र हो—विश्वास निर्माण। जनताले “यी पार्टीले हाम्रो जीवन बदल्न सक्छन्” भन्ने विश्वास गर्न सके मात्र संगठन बलियो हुन्छ। त्यसका लागि इमान्दारिता, पारदर्शिता र कार्यक्षमतामा कुनै सम्झौता हुनुहुँदैन। यही मार्गले मात्र नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः बलियो, विश्वसनीय र दीर्घकालीन बनाउन सक्छ।


नाेट: लेखक ज्ञानु आचार्य,  प्रतिनिधि सभा निर्वाचन २०८२(समानुपातिक) का उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।