नेपाली कम्युनिस्ट पार्टीमा एकताकाे लहर चल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ पाैष २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र तीव्र आन्तरिक ध्रुवीकरण सुरु भएको छ। पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा विकसित पछिल्लो राजनीतिक समीकरणले जसपाभित्र ठूलो हलचल ल्याएको छ। यही ध्रुवीकरणको परिणामस्वरूप जसपाको एउटा उल्लेखनीय हिस्सा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन थालेको छ।
जसपा नेपालका उपाध्यक्ष शिवलाल थापाको नेतृत्वमा रहेको ठूलो समूह र लिम्वुवान क्रान्तिकारी पार्टी राह्न ४ बजे काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममार्फत नेपाली कम्युनिस्ट पार्टीसँग औपचारिक एकता घोषणा गरेको छ। यस घटनालाई राजनीतिक वृत्तमा जसपाभित्रको ‘राजनीतिक भूकम्प’का रूपमा विश्लेषण गरिएको छ।
उपत्यकाको राजनीतिमा अर्को महत्वपूर्ण परिवर्तन पुस ३० गते देखिने भएको छ। पहिचान र अधिकारको आन्दोलनमा सक्रिय सुमन सायमि—राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष—को नेतृत्वमा रहेको समूह पनि सोही दिन नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने तय भएको छ। यसले काठमाडौं उपत्यकामा नेकपाको सांगठनिक र राजनीतिक प्रभाव थप बलियो बनाउने अनुमान गरिएको छ।

नेताहरू नेकपातर्फ आकर्षित हुनुका पछाडि केही प्रमुख कारणहरू देखिएका छन्।
पहिलो, पहिचान र संघीयताको सवालमा राजेन्द्र प्रसाद श्रेष्ठको प्रभावमा रहेका पहिचानकाे आन्दोलन  र नेपाल संवत् आन्दोलनका अभियन्ताहरूको सक्रिय भूमिका।
दोस्रो, गैरन्यायिक सडक विस्तारबाट पीडित नागरिक तथा सहकारी पीडितहरूको मुद्दालाई नेकपाले प्राथमिकताका साथ उठाउँदै आउनु।
तेस्रो, स्थापित दलहरूप्रति बढ्दो असन्तुष्टि र उपत्यकामा वैकल्पिक, सशक्त वामपन्थी राजनीतिक शक्तिको खोजी।
 मधेश केन्द्रित राजनीतिबाट बाहिरिँदै पहिचान, सुशासन र सामाजिक न्यायका मुद्दा बोकेर नेताहरू नेकपातर्फ मोडिनुले आगामी राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने संकेत गरेको छ। विशेषगरी काठमाडौं उपत्यकामा नेपाली कम्युनिस्ट पार्टीको बढ्दो जनसमर्थनले स्थापित ठूला दलहरूलाई गम्भीर चुनौती थपिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।