नेपाली राजनीतिकाे अबको यात्रा : ज्ञानु आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य , ७ मंसिर २०८२

नेपालको पछिल्ला राजनीतिक उतारचढावले एउटा गम्भीर प्रश्न उठाएको छ । के अब पनि विभाजित राजनीतिले देशलाई अगाडि लैजान सक्छ? उत्तर स्पष्ट छ: एजेन्डा मिल्ने राजनीतिक दलहरूले अब चाँडोभन्दा चाँडो एकीकरण भएर जनतासमक्ष एउटै ध्येय, एउटै दृष्टिकोण र एउटै प्रतिबद्धता लिएर अघि बढ्नै पर्छ।

अहिलेको अवस्थामा नेताहरूबीच टाउको नमिल्दा, व्यक्तिगत महत्वाकांक्षाहरू हावी हुँदा र आपसी अविश्वास बढ्दा कार्यकर्ताहरू समेत टुक्रिँदै गएका छन्। परिणामस्वरूप राजनीतिक शक्ति मात्र होइन, समाजका आधारभूत मूल्यहरू समेत कमजोर बन्न पुगेका छन्। 
यति मात्र होइन, विचार नमिल्ने दलहरूसँग बारम्बार गठबन्धन गरेर चुनावी अंकगणित मिलाउन खप्पिस भएर देशको आजको कमजोर अवस्था तयार भएको हो। जनताले स्थिरता, प्रभावकारी शासन र दूरदृष्टि भएको नेतृत्व खोजिरहेका छन्, तर राजनीतिक दलहरूले तत्कालको फाइदाका लागि सिद्धान्त बेच्न थालेपछि जनविश्वास खल्बलिएको छ।
अब भने हालसम्मका उपलब्धिहरूको रक्षा गर्दै नयाँ सोच, नयाँ तरिका र स्पष्ट दिशा लिएर अघि बढ्नुपर्ने आवश्यकता झनै कडा रूपमा महसुस भएको छ। संविधानमा रहेका त्रुटिहरूलाई सुधार्दै अपूर्ण विषयहरूलाई संविधानमै सुरक्षित गर्ने, र यसको लागि बलियो र स्थिर बहुमतको सरकार अनिवार्य छ। तर जनतामा संविधान संशोधनका विषयहरूबारे स्पष्ट जानकारी नपुग्दा, राजनीतिक दलहरूले आफ्ना योजनाहरू जनतासमक्ष पारदर्शी रूपमा नल्याँदा बहुमत जुट्न सकेको छैन।
जनता पनि तत्कालीन लाभका अपेक्षामा भविष्यको दीर्घकालीन फाइदा बिर्सने प्रवृत्तिमा छन्। निर्वाचित नेतृत्वले पनि भविष्यको योजनाभन्दा चुनावी लाभ प्राथमिकता दिने हुँदा मुलुक नीति–निर्णयमा दिशाहीन हुँदै गएको छ। यही कारणले हामीले चाहेको जस्तो परिवर्तन, स्थिरता र विकास साकार हुन सकेको छैन।

अब समाधान के ? 
एजेन्डा मिल्ने पार्टीहरूको एकीकरण, व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय स्वार्थमा आधारित।
संविधानको संरक्षण र आवश्यक संशोधन, दृढ राजनीतिक सहमतिको आधारमा।
जनतामा स्पष्ट र पारदर्शी संवाद, संविधानमा किन के परिवर्तन आवश्यक छ भन्ने बुझाउने।
स्थिर, जिम्मेवार र सिद्धान्तप्रतिको निष्ठामा आधारित बहुमत सरकार निर्माण।
तत्कालभन्दा दीर्घकालीन हितलाई प्राथमिकता दिने राजनीतिक संस्कृति विकास।
अबको राजनीतिले पुराना गल्तीहरू दोहोर्याउने ठाउँ छैन। एकता, स्पष्ट एजेन्डा, राष्ट्रिय सोच र दीर्घकालीन दृष्टिकोण । यही नै मुलुकलाई नयाँ दिशामा लैजाने एक मात्र बाटो नै नेपाली राजनीतिकाे अबको यात्रा हुनुपर्छ । 

#gyanuacharya #Politics 
#genzdemands #youthsforchangechallenge

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।