ज्ञानु आचार्य
१६ माघ, २०८१
नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। यो दिन स्वतन्त्रता, लोकतन्त्र, र मानव अधिकारका लागि लड्दा प्राण गुमाएका वीर सहिदहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरिन्छ। सहिदहरू राणा शासन, पञ्चायती व्यवस्था, तथा विभिन्न राजनीतिक आन्दोलनहरूमा लडेका थिए। उनीहरूको बलिदानकै कारण नेपाल आज लोकतान्त्रिक गणतन्त्र बनेको छ। तर, के साँच्चै हामीले उनीहरूको सपना साकार पार्न सकेका छौँ? के नेपालमा सहिदहरूको बलिदानको वास्तविक सम्मान गरिएको छ?
नेपालमा सहिद दिवस मनाउने परम्परा वि.सं. २०१२ बाट सुरु भएको हो। तर , १९९७ सालमा राणा शासनको विरुद्धमा प्रजातन्त्र स्थापनाको लडाइँ लडिरहेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लाई तत्कालीन राणा सरकारले मृत्युदण्ड दियो।
यी चार सहिदहरू राणा शासनको क्रूरतालाई अन्त्य गर्न चाहन्थे। उनीहरूको बलिदानको लहर फैलिँदै गयो र अन्ततः २००७ सालमा नेपालमा राणाशासनको अन्त्य भयो। तर, त्यसपछि पनि नेपालको शासन व्यवस्था स्थिर हुन सकेन। २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र संघर्ष, र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा हजारौँ वीर सपुतहरूले ज्यान गुमाए। तिनै बलिदानकै कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो।
तर, सहिदहरूले देखेको नेपाल आज कति वास्तविकतामा परिणत भएको छ त?
सहिदहरूले देखेको सपना थियो— न्याय, समानता, स्वतन्त्रता, भ्रष्टाचारमुक्त शासन, र समृद्ध राष्ट्र। उनीहरू निरंकुशताको अन्त्य गरेर जनताको अधिकार स्थापित गर्न चाहन्थे। तर, आज नेपालमा सहिदहरूको बलिदानको सही मूल्यांकन गरिएको छ भनेर दाबी गर्न गाह्रो छ।
नेपाल अहिले पनि भ्रष्टाचार, राजनीतिक अस्थिरता, बेरोजगारी, गरिबी, शिक्षा र स्वास्थ्यमा असमान पहुँच जस्ता समस्याहरूबाट ग्रसित छ। सहिदहरूले सपना देखेको पारदर्शी शासन व्यवस्था अझै पूर्ण रूपमा स्थापित भएको छैन। सत्ता कब्जा गर्ने होडबाजी र राजनीतिक स्वार्थले गर्दा सहिदहरूको बलिदानको भावना बिर्सिँदै गएको देखिन्छ।
नेताहरू सहिद दिवसका अवसरमा श्रद्धाञ्जलि दिन्छन्, भाषण गर्छन्, तर व्यवहारमा सहिदहरूको सपना पूरा गर्नेतर्फ ध्यान दिँदैनन्। सहिद परिवारहरूलाई राज्यले सम्मान गरेको दाबी गरिए पनि, धेरैजसो सहिद परिवार अझै पनि आर्थिक समस्यामा छन्। उनीहरूलाई सरकारले केही राहत र सम्मान प्रदान गरे पनि त्यो पर्याप्त छैन।
सहिदहरूको बलिदानको साँचो सम्मान केवल फूलमाला चढाएर र औपचारिक कार्यक्रम गरेर मात्र हुँदैन। उनीहरूले देखाएको मार्ग पछ्याएर मात्र उनीहरूको सम्मान हुनेछ।
नेपालमा सुशासनको स्थापना हुनुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ, र नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ। समानताका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक सुरक्षामा सबै नागरिकलाई समान अवसर प्रदान गरिनुपर्छ। सहिद परिवारहरूको उचित संरक्षण र सम्मान गर्न राज्यले ठोस कदम चाल्नुपर्छ। नयाँ पुस्तालाई सहिदहरूको योगदानबारे शिक्षित गर्न जरुरी छ, ताकि उनीहरूको बलिदान केवल किताबका पानामा मात्र सीमित नहोस्।
यदि सहिदहरूले देखेको सपना पूरा गर्न सकिन्न भने, सहिद दिवस केवल एक औपचारिकता र सरकारी बिदामा सीमित हुनेछ। फूलमाला अर्पण र भाषणले मात्र सहिदहरूको सम्मान हुँदैन। उनीहरूले देखाएको बाटो पछ्याएर, साँचो लोकतन्त्र, समानता, र समृद्ध नेपालको परिकल्पना साकार पार्न सबैले योगदान दिनुपर्छ। अबको आवश्यकता भनेको सहिदहरूको बलिदानलाई व्यवहारमा रुपान्तरण गर्नु हो, ताकि नेपालले साँचो रूपमा उनीहरूको सपना पूरा गर्न सकोस्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।