प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , २०८२ मंसिर २८ । 

प्रकृति मानव केन्द्रित जन अभियान, नेपालको आयोजनामा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाको अध्यक्षता, उपाध्यक्ष टेकराज पौडेलको स्वागत मन्तव्य र डा. माया गिरीको सञ्चालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जैव–सामाजिक संकटका विविध आयाममाथि गहन छलफल गरिएको थियो। कार्यक्रममा बहसका लागि अध्यक्ष सापकोटाले “जैव–सामाजिक संकट समाधानका लागि प्रकृति–मानव हितैषी कार्यक्रम लागू गरौं” भन्ने मूल नारा र “वर्तमान विश्व कर्पोरेट पूँजीवादी व्यवस्था सबै समस्याहरूको जड हो; प्रकृति–मानव केन्द्रित कार्यक्रमको आधारमा पुनर्गठन आवश्यक छ” भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो। प्रस्तुत अवधारणा पत्रमा वर्तमान विश्व प्रणालीले सिर्जना गरेका सामाजिक, पर्यावरणीय र मानवीय संकट तथा तिनको वैकल्पिक समाधानका मार्गहरूबारे प्रकाश पारिएको थियो। कार्यक्रममा सहभागी ३८ जनामध्ये १८ जनाले आ–आफ्ना विचार र सुझाव प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूले अवधारणा पत्रमा उठाइएका विषयहरू सान्दर्भिक, समयोचित र मननयोग्य रहेको धारणा राख्दै वर्तमान विश्वको जटिल परिस्थितिलाई मध्यनजर गर्दै यस्ता बहसलाई व्यापक रूपमा जनस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो। छलफलका क्रममा वर्तमान विश्वमा देखिएको जैव–सामाजिक संकट मानव जातिकै क्रियाकलापको परिणाम भएको विषयमा सहभागीहरूबीच व्यापक सहमति देखिएको थियो। अन्तरक्रियामा विचार व्यक्त गर्ने वक्ताहरूमा डा. शम्भु कटेल, शिवराज श्रेष्ठ, रनमकुमार लामा, आर.पी. नेपाल, पुण्यप्रसाद रेग्मी, भरत राजदगिरी, डा. संग्राम पुरी, सूर्यबहादुर शाही, शिवराज आचार्य, विजयराज भट्टराई, डा. माया गिरी, खड्कराज पुरी, दामोदर गैरे, बासुदेव डल्लाकोटी, तपेश्वर शाह, लक्ष्मण पुरी, रामेश्वर श्रेष्ठ र उत्तम कडेल रहनुभएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।