जलवायु र मानव–निर्मित संकटको चपेटामा मधेशः प्रकृति मानव केन्द्रित जनअभियान नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ साउन २०८२ ।

तराई–मधेश प्रदेशमा विगत केही महिनादेखि वर्षाको अभाव र असमान मौसमी अवस्थाका कारण उत्पन्न गम्भीर जलसंकटप्रति प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल ले गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी र दीर्घकालीन समाधानका उपाय खोज्न आग्रह गरेको छ।

संस्थाका अध्यक्ष बिन्दु राज सापकोटाले सोमबार जारी विज्ञप्तीमा यस वर्ष अपेक्षित भन्दा निकै कम वर्षा भएकाले देशको खाद्य सुरक्षाको मेरुदण्ड मानिएको तराई–मधेश क्षेत्रमा अभूतपूर्व संकट देखिएको उल्लेख गर्नुभएको छ। धान रोपाइँमा चरम गिरावट आएको र मधेश प्रदेशका विभिन्न जिल्लामा ३० प्रतिशत भन्दा कम जमिनमा मात्र रोपाइँ सम्पन्न भएको तथ्यांकले अवस्था गम्भीर भएको पुष्टि गरेको उहाँको भनाइ छ।

विज्ञप्तीमा जलवायु परिवर्तनसँगै चुरे दोहन, भूमिगत जलस्रोतको अत्यधिक दोहन र दीर्घकालीन जलव्यवस्थापनको अभावले खडेरी थप जटिल बनेको जनाइएको छ। सापकोटाले विगत १७–१८ वर्षदेखि पहाडका पानीका मुहान सुक्दै गएको र तराईका खोलानाला हराउँदै गएको सरकारी अध्ययनकै तथ्यलाई उद्धृत गर्दै यस संकट दीर्घकालीन प्रकृतिको रहेको स्पष्ट गर्नुभएको छ।

नेपाल सरकारले हालै घोषणा गरेको ५०० डिप बोरिङ जडान गर्ने योजनाले समस्या समाधान नगर्ने, बरु भूमिगत जलभण्डारको सतह झन् घट्ने जोखिम रहेको भन्दै अभियानले यसलाई दीर्घकालीन समाधानको दृष्टिकोणबाट पुनर्विचार गर्न आग्रह गरेको छ।

अभियानले सामुदायिक जल व्यवस्थापनमा स्थानीय तह, जनप्रतिनिधि र नागरिक समाजको सहकार्य सुनिश्चित गर्न, मधेशका पाँच जिल्लामा वर्षभरि सिंचाइ उपलब्ध गराउने सुनकोशी–मरिन डाइभर्सन आयोजना तत्काल सम्पन्न गर्न, चुरे संरक्षण, भूमिगत जल पुनर्भरण र वर्षातको पानी सञ्चयनका कार्यक्रम लागू गर्न माग गरेको छ। साथै, खडेरीको वैज्ञानिक मूल्यांकन र प्रभावित क्षेत्रको तथ्यांक संकलनका लागि स्वतन्त्र अध्ययन टोली गठन गर्न तथा प्रभावित समुदायलाई खानेपानी, खाद्यान्न, पशुपालन र स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।

विज्ञप्तीमार्फत प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल ले यस संकटलाई केवल ‘प्राकृतिक’ मात्र नभई मानव–प्रेरित संरचनागत कमजोरीको परिणामका रूपमा बुझ्न र जलवायु परिवर्तन तथा पर्यावरणीय गिरावटजस्ता चुनौतीको सामना गर्न जीवन र व्यवस्थालाई रुपान्तरण गर्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।