काठमाडौं, २४ पाैष २०८१ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको १०६ मेगावाटको अर्ध जलाशययुक्त आयोजनाको ठेक्का प्रक्रियालाई लिएर केही सञ्चार माध्यमले कम्पनी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दीपक खड्काको नाम जोडेर प्रकाशन गरेको समाचारप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण गराएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि ठेक्का प्रक्रियामा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली, र अन्तर्राष्ट्रिय मान्यता अनुसारको मूल्याङ्कन विधि अपनाइएको थियो। प्राविधिक मूल्याङ्कनमा असफल भएका कारण ठेक्का रद्द गरिएको स्पष्ट पार्दै कम्पनीले मन्त्रीज्यूको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
कम्पनीले स्पष्ट गरेको छ कि मन्त्रीज्यू कम्पनीको सञ्चालक समितिमा सहभागी हुने कुनै कानूनी व्यवस्था छैन। साथै, ठेक्का प्रक्रियामा मन्त्रालय वा मन्त्रीज्यूको कुनै चासो वा निर्देशन पनि नरहेको उल्लेख छ।
कम्पनीले विज्ञप्तिमा केही सञ्चारमाध्यमले कपोकल्पित, तथ्यहीन, र भ्रामक समाचार प्रकाशित गरी कम्पनी र माननीय मन्त्रीज्यूको चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ। यस्ता कार्यले देशको गरिमामय संस्थाको प्रतिष्ठामा आँच आउने मात्र नभई, आपसी विश्वासमा समेत खलल पुर्याउने उल्लेख छ।
कम्पनीले सञ्चार माध्यमलाई पत्रकारिताको न्यूनतम मर्यादा र आचारसंहिताको पालना गर्न आग्रह गर्दै तथ्यपरक र विश्वसनीय समाचार सम्प्रेषण गर्न अपिल गरेको छ। साथै, यसअघि प्रकाशित भ्रामक समाचारको खण्डन गरिदिन अनुरोध गर्दै विज्ञप्तिमा भनिएको छ, "कुनै पनि समाचारको सत्यतथ्य पुष्टि गर्न कम्पनीसँग प्रत्यक्ष सम्पर्क गर्नुहोस्।"
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।