पोखरा, २७ फागुन २०८१
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एन.जे.एस कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त गुरुयोजना तयार पारेको हो।
गुरुयोजनामा पोखरा महानगरका चार क्षेत्र पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेम्जा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने उल्लेख गरिएको छ। ती केन्द्रहरू मार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन गरिनेछ।
नगर प्रमुख धनराज आचार्यका अनुसार प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै फोहोर पानीलाई पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा मात्रै छोडिनेछ। “हामीले आकाशे पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन। यसले वातावरण प्रदूषण भइरहेको छ,” नगर प्रमुख आचार्यले भने।
महानगर प्रमुख आचार्यले ११ अर्ब रुपैयाँ लागतमा सञ्चालन हुने यो परियोजनाले वातावरणीय स्वच्छता प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। योजना अन्तर्गत प्रशोधन केन्द्रमा पानी प्रशोधनका लागि छुट्टाछुट्टै ढल प्रणाली र दुर्गम क्षेत्रमा पानी सङ्कलनका लागि पम्प स्टेसन र म्यानहोल पम्प जडान गरिनेछ।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। पोखरामा निर्माण गरिने यी प्रशोधन केन्द्रहरूले यो लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अहिले पोखराका धेरै ठाउँमा ढलको पानी सिधै खोलामा मिसिने गरेको अवस्थामा यो गुरुयोजनाले फोहोर पानीलाई प्रशोधन गरी मात्र खोलामा मिसाउने व्यवस्था मिलाउनेछ। यसले नदी तथा तालहरूको प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने विश्वास छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।