वीरगञ्ज, माघ १२ – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आज वीरगञ्जको पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सुरु भएको छ। बैठकमा पार्टीको राजनीतिक, सङ्गठनात्मक र समसामयिक विषयहरूमा गहन छलफल गरिने बताइएको छ।
पार्टीका उपमहासचिव तथा संघीय खानेपानीमन्त्री प्रदीप यादवका अनुसार, बैठकमा विशेष गरी मधेशका मुद्दा, भावी रणनीति र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिनेछ। “हाम्रो बैठकले पार्टीलाई थप मजबुत बनाउनुका साथै मधेश र राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्नेछ,” मन्त्री यादवले बताए।
बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह-अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो र कोषाध्यक्ष रञ्जु झालगायतका नेताहरू सहभागी छन्।
जसपाले दुई दिनसम्म चल्ने यस बैठकमा पार्टीका आन्तरिक गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने तयारी गरेको छ। विशेष गरी मधेशको विकास र समृद्धिका लागि आवश्यक पहलमा गहन छलफल हुने जनाइएको छ।
पार्टी नेतृत्वले यस बैठकलाई जसपाको संगठनात्मक एकता र दीर्घकालीन रणनीतिका लागि महत्वपूण अवसरको रूपमा लिएको छ। बैठकमा प्रस्तुत गरिने सुझाव र निर्णयहरूले पार्टीलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।