लेखनाथमा आप्रवासी स्रोत उपकेन्द्र सञ्चालन: वैदेशिक रोजगारमा परामर्श र सुरक्षा प्राथमिकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ।

लेखनाथस्थित इलाका प्रशासन कार्यालयमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले संयुक्त रूपमा गर्नुभयो।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा सञ्चालनमा ल्याइएको यस केन्द्रले पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्मका बासिन्दा तथा रुपा गाउँपालिकाका नागरिकलाई लक्षित गरी सेवा दिनेछ। केन्द्रले वैदेशिक रोजगारीमा जाने र पहिले नै विदेशमा रोजगारी गरिरहेका नागरिकलाई आवश्यक परामर्श र जानकारी उपलब्ध गराउनेछ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित सामी परियोजना अन्तर्गत यो केन्द्र स्थापना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख आचार्यले स्वदेशमै रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै वैदेशिक रोजगारीमा जानेहरूका लागि पनि आवश्यक तालिम र सीप विकास कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले वैदेशिक रोजगारीका समस्यालाई गम्भीर रूपमा लिँदै तत्काल समाधानका लागि प्रशासन सक्रिय रहेको बताउनुभयो। गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगार सुरक्षित बनाउन राज्यका तर्फबाट थप पहल आवश्यक रहेको धारणा राख्नुभयो।

सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा विभिन्न समस्या रहेको औँल्याउँदै यसको समाधानका लागि चेतना र आत्मसम्मानको विकास अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहालले वैदेशिक रोजगारीका समस्या समाधान गर्न यस्तो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका समस्या र चुनौतीबारे आफ्ना जिज्ञासा राखेका थिए।

स्रोत उपकेन्द्रको स्थापनाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विश्वसनीय सूचना, परामर्श र तालिम उपलब्ध गराउने र उनीहरूको सुरक्षा तथा अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।